बढ्न थाल्यो आर्थिक गतिविधि, तरलता ७१ अर्बमा झर्‍यो

तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ।

बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्।


Advertisement

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए। पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ। तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिएको छ। पुनरकर्जा भनेको राष्ट्र बैंकले नयाँ पैसा छापेर बजारमा पठाउनेजस्तै हो। पुसपछि बैंकहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा ३ खर्ब रुपैयाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो।

‘पुनरकर्जालाई जोडेर हेर्दा पुसमा भएको २ खर्ब रुपैयाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ’, प्रवक्ता डा. भट्टले भने।

बैंकसँग अहिले ७१ अर्ब मात्रै रहेको र थप ९ अर्ब ५४ करोड राष्ट्र बैंकले तरलता प्रशोचन अर्थात् बजारबाट पैसा खिचेर लिएको छ। यो जोड्दा पनि अहिलेको अवस्थामा बैंकहरू ८० अर्ब रुपैयाँभन्दा बढी ऋण दिन सक्ने अवस्था छैनन्। निक्षेपकर्ताले पैसा फिर्ता लिन थाले भने त त्यति पनि ऋण दिने क्षमता रहँदैन। यसले एकातिर मुलुकमा आर्थिक गतिविधि बढेको देखाएको छ भने सँगै बैंकमा पैसा अभाव निम्तिन थालेको संकेत पनि गरेको छ।

सामान्यतः नेपाली वित्तीय प्रणालीमा ३०–४० अर्ब रुपैयाँ अधिक तरलता रहेकै अवस्थामा पनि पैसा अभाव हुन थाल्छ। धेरै बैंक तथा वित्तीय संस्थामा छरिएर रहेको पैसा एकमुष्ट जोड्दा ठूलो अंक देखिने भए पनि हरेक बैंकको लगानी क्षमता बराबर हुँदैन।

बजारमा लगानीयोग्य पैसा अभाव भयो भने त्यसको असर सुरुमै ब्याजदरमा पर्छ। बैंकहरूले एकातिर ऋणीसँग बढी ब्याज लिन थाल्छन् भने सँगै निक्षेपकर्ताले पाउने ब्याज पनि बढ्छ। आफ्नो बैंकमा निक्षेप तान्न यसअघि पनि बैंकहरूले ब्याजदर बढाउने प्रतिस्पर्धा गर्दै आएका थिए। तरलता अभाव देखिँदाको दोस्रो असरचाहिँ सेयर बजारमा पर्छ। ब्याजदर बढ्न थालेपछि सेयर बजार ओरालो लाग्न थाल्छ। 

असोजपछि बढ्न थालेको अन्तर्राष्ट्रिय व्यापारले तीव्रता पाएको छ। लामो समय बन्द रहेका औद्योगिक कलकारखानाले विदेशबाट कच्चा पदार्थ किन्ने क्रम हिउँद लागेसँगै बढ्न थालेको छ। राष्ट्र बैंकको तथ्यांकले पनि पुससम्म आइपुग्दा नेपालले पोहोर सालकै बराबर पैसा वस्तु आयातमा खर्चिसकेको छ। माघको औपचारिक तथ्यांक आउन बाँकी छ। तर, मागमा आयात निकै चुलिएको सरकारी अधिकारीहरू बताउँछन्। 

सेयर बजारमा पनि लगानी बढेको छ। असार मसान्तमा सेयर धितोमा ५० अर्ब रुपैयाँ लगानी भएकामा पुससम्म ७६ अर्ब रुपैयाँ कर्जा परिचालन भएको छ। माघ र फागुनमा सेयर धितो कर्जा अझै बढेको सेयर बजारको फैलँदो आकारले पनि जनाउँछ।

बैंकहरूको तथ्यांक हेर्ने हो भने फागुन लागेपछि कर्जा विस्तार आक्रामक रूपमा अघि बढेको देखिन्छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुनको दुई सातामा २७ वटा वाणिज्य बैंकले मात्रै ४४ अर्ब रुपैयाँ थप कर्जा लगानी गरेका छन्। जबकि, यसबीचमा २३ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ। अन्नपूर्ण पोस्टमा विनय बञ्जराले खबर लेखेका छन् ।
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्