
बाँकेको कोहलपुरमा मंगलवार भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे१ख २२३९ नम्बरको बस र कोहलपुरतर्फ आउँदै गरेको भे१प ५६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका–३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर–३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।
बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा सोमवार राति ना८च ५४५६ नम्बरको टिप्परले सडकमा गुडिरहेका २ मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका–५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार टिप्परले मृतक खड्का सवार भे८प ३७९५ नम्बरको मोटरसाइकल र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो ।
दुर्घटनामा ५१ वर्षीय सञ्जय चन्द घाइते भएका छन् । २ मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिप्पर र चालकलाई सोमवार राति नै नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उपरीक्षक खनालले बताए ।