धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् ।
भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर भागेका हुन् ।
अख्तियारले उक्त रकमसहित अध्यक्ष राउतका सवारी चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।
'गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्कोर्पियो गाडीमा रु. ८,००,०००।– अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम जिल्ला धनुषा छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउमा फ्याँकी फरार रहेको, निजका सवारी चालक वीरबहादुर मगरलाई बटेश्वर गा.पा. वडा नं. ४ बाट नियन्त्रणमा लिइएको र नगद रकम रु. ८,००,००।– (आठ लाख रुपैयाँ) छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेला पारी निज सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,' अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिका अध्यक्ष राउत भने फरार छन् ।
लोकान्तर संवाददाता