
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।
बुधवार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
संसदीय दलको नेता निर्वाचित गर्ने र हटाउने निर्णय भने संसदीय दलले गर्ने व्यवस्था छ ।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले पनि संसदीय दलको नेताबाट हटाउने संसदीय दलको निर्णयको अनुमोदन गरेको थियो ।
साथै बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई राजीनामा गर्न निर्देशन दिएको छ ।
प्रतिनिधि सभा विघटन भएलगत्तै पुस ७ गते बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो । यद्यपि सर्वोच्चको फैसला बमोजिम त्यसको प्रभाव शून्य मान्नुपर्ने हुन्छ ।