०३ असार २०८३, बुधबार
विप्लव नेकपाको लाइन

प्रचण्डविरुद्ध ओली र ओलीविरुद्ध प्रचण्डसँग सहकार्य सम्भव छैन– अनिल विरही, विप्लव नेकपा

फागुन १९, २०७७
प्रचण्डविरुद्ध ओली र ओलीविरुद्ध प्रचण्डसँग सहकार्य सम्भव छैन– अनिल विरही, विप्लव नेकपा

हामी शुरूदेखि नै वार्ताको विरोधी होइनौं । मुख्य कुरा अहिले सरकार तत्पर बन्यो त्यसैले वार्ताको वातावरण बनेको हो । यसअघि सरकार तत्पर थिएन, त्यसैले वार्ता हुन सकेको थिएन । 

संसदीय व्यवस्थाभित्रका कुनै पनि दलहरू हाम्रा दृष्टिकोणमा फरक दल होइनन् ।

अहिले केपी ओलीसँगै किन वार्ता ? भन्ने प्रसंग उठिरहेको छ । वार्ताको वातावरण बनाउने हो भने प्रचण्ड प्रधानमन्त्री भएपनि हुन्छ, देउवा प्रधानमन्त्री भएपनि हुन्छ, किनभने हामी वार्तामार्फत समस्या समाधान गर्न पहिल्यैदेखि तत्पर थियौं । 

हामीले सरकारसँग वार्ता गर्दा के-के एजेण्डामा छलफल गरिरहेका छौं भनेर बाहिर चासो व्यक्त भएको पाइन्छ । हाम्रो मुख्य एजेण्डा शुरूदेखि अहिलेसम्म एउटै छ । त्यो राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दा हो । 

हामीले राजनीतिक समस्या समाधान गर्नका लागि जनतालाई नै प्रत्यक्ष सहभागी गराउन खोजेका छौं । धेरैले त्यसलाई जनमत संग्रह भनेर बुझेका छन् । बुझाइमा जे पनि रहन सक्यो । तर जनताको जनजीविकाको प्रश्न सिधै राजनीतिक व्यवस्थासँग जोडिएको हुनाले आफ्नो व्यवस्था जनताले छान्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । 

यतिबेला संसदीय दलहरूभित्रै झगडा परिरहेको स्थिति छ । उनीहरूको झगडा कसरी मिलाउने हो, आफैं जानून् । हामीलाई सत्तामा रहेका नेकपाका नेताहरूबीचको झगडाका बारेमा त्यति वास्ता छैन । संसदीय व्यवस्थामा त्यस्ता झगडा सामान्य हुन् । 

हामीले जनयुद्धमा सामेल शक्तिहरूसँग संयुक्त मोर्चा बनाएर जाने प्रयास गरेका छौं । तर हाम्रो दृष्टिमा प्रचण्ड पनि अहिले सत्तारूढ हुन् ।

जनयुद्धले बोकेको मूलभूत एजेण्डामा हामी सबैसँग सहकार्य गर्न खुला छौं । तर मेरो विचारमा अहिले प्रचण्डको समस्या भनेको ओली र ओलीको समस्या भनेको प्रचण्ड जस्तो देखिएको छ । त्यसैले हामी ओलीविरुद्ध प्रचण्डसँग र प्रचण्डविरुद्ध ओलीसँग सहकार्य गर्न तयार छैनौं । 

तर वार्ताबाट सहज निकास निस्कियोस् भन्ने हाम्रो चाहना हो । शान्ति प्रक्रियाका सन्दर्भमा जनयुद्ध पक्षधर एक हुनुपर्छ भन्ने हाम्रो मान्यता कायमै छ । 

त्यही मान्यतामा आधारित रहेर हामीले ४ पार्टीको संयुक्त रणनीतिक मोर्चा पनि घोषणा गरिसकेका छौ । हामी, किरण नेतृत्वको क्रान्तिकारी माओवादी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच संयुक्त रणनीतिक मोर्चा बनेको छ । 

पार्टी, सेना र संयुक्त मोर्चा क्रान्तिका तीन आधारभूत स्तम्भ हुन् । 

बाहिर विद्रोही नेकपा कमजोर भएकै कारणले सरकारसँग वार्ता गर्न लागेको हल्ला फैलिएको छ । तर यदि हामी कमजोर नै भएका हौँ भने सरकारले हामीसँग वार्ता गर्ने प्रस्ताव किन गर्‍यो त ? नगरेको भए हुने । हामी कहिल्यै पनि वार्ताविरोधी थिएनौं । 

हाम्रो बहस सत्ताको विषयमा छ । अहिलेको सरकार या सत्तारूढ दलसँग हाम्रो सत्ताका अंगहरू लेनदेनका विषयमा कुनै बहस भएको छैन । 

कतिपयले ओली नेतृत्वको नेकपासँग पार्टी एकता हुने कुरा गरेका छन्, तर त्यसो होइन । सत्ताका अंगहरूमा हाम्रो कुनै बहस छैन । 

यतिबेला सरकार आफैं अप्ठ्यारोमा परेको छ । राजनीतिक समस्याले अप्ठ्यारो स्थिति पैदा गरेपछि सरकारले हामीसँग वार्ताको पहल गरेको हो । 

यतिबेला प्रधानमन्त्री ओली चौतर्फी संकटमा परेका छन् । उनको रणनीति प्रचण्डसँग लड्ने, कांग्रेसलाई नरम बनाउने र हामीलाई न्युट्रलाइज गर्ने हो ।

सरकार सबैसँग एकैपटक लड्न सक्दैन, त्यसैले रणनीतिक फाइदा देखेर नै सरकारले वार्ताको पहल गरेको हो भन्ने बुझाइमा हामीमा दुईमत छैन । 

हामीले पटक-पटक संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो भनिरहेका छौं । 

वैज्ञानिक समाजवादी व्यवस्था भनेको साइकल र मोटरसाइकललाई सँगै रेस गराएर विजयी छान्ने व्यवस्था होइन । 

चुनाव त हुन्छ तर अर्बपति र सुकुम्बासीबीच हुने चुनावको पक्षमा हामी छैनौं । अर्बपति-अर्बपति बीच र सुकुम्बासी-सुकुम्बासीबीच चुनाव हुने हो हामीले परिकल्पना गरेको व्यवस्थामा ।

अनि जसले चुनाव जितेर गएको छ, राम्रो काम गर्न सकेन भने प्रत्याव्हान गर्न पाउनुपर्छ । 

जसरी अहिले ओलीले चौतर्फी बहुमत गुमाएपछि पनि पद छोड्दिन भनिरहेका छन्, यो सही भएन । 

जब संसद् विघटन भयो, त्यसपछि हामी केन्द्रीय समितिको बैठक बस्यौं । 

हाम्रो बैठकले आ-आफ्नो स्वार्थका निम्ति संसदीय दलहरूले झगडा गरेको र विदेशी शक्तिकेन्द्रसँग साँठगाँठ गरेको निष्कर्ष निकालेका छौं । 

अहिले नेपाल भूराजनीतिक हिसाबले चीन र अमेरिकाको चेपुवामा परेको हामीले निष्कर्ष निकालेका छौं । मूर्त ढंगबाट हेर्दा अमेरिकाको स्वार्थ एमसीसी, भारतको हिन्दूत्व र चीनको तिब्बत मामिलालाई लिएर नेपालमा रस्साकस्सी चलिरहेको छ । 

केही दिनअघि प्रचण्डले भारतको कम्फर्टेबल हुने गरी सरकार बनाउँछु भनेका थिए । के हो त्यो कम्फर्टेबल भनेको ? प्रचण्ड मात्र होइन, ओलीका पछिल्ला गतिविधिहरूले पनि आफ्नो स्वार्थका लागि विदेशीसँग साँठगाँठ गरेको पुष्टि गरेका छन् । 

हामी प्रतिबन्धित हुँदा पनि देशदौडाहामै थियौं । जनताकै नजिक थियौं । अहिले वार्ताको टेबलमा बसेका छौं । सरकारले प्रतिबन्ध फुकुवा गर्ने कुरा सुनेको छु । प्रतिबन्ध फुकुवा भएपछि पनि हामी हाम्रो राजनीतिक कार्यक्रमलाई उही रूपमा अघि बढाउँछौं । 

मैले धेरै जेलहरू देखें । केही दिनअघि मात्र मलाई रिहा गरिएको हो । कतिपय ठाउँमा ठीकै छ भन्न मिले पनि कतिपय ठाउँमा सामान्य राजनीतिक व्यवहार पनि गरेनन् । रेडियो सुन्न नदिने, पत्रिका पढ्न नदिने जस्ता कामहरू भए । 

पञ्चायतकालमा बन्दीहरूलाई सिमेन्टको चिसो छिँडीमा सुताइन्थ्यो । अहिले एउटा काठको खाटसम्म उपलब्ध गराइएको छ । त्यो पनि सबै ठाउँमा होइन । 

राजनीतिक बन्दीहरूलाई राजनीतिक व्यवहार हुनुपर्थ्यो । केपी ओली आफैं १४ वर्ष जेलमा थुनिएका व्यक्ति हुन् । उनकै नेतृत्वको सरकार हुँदा हामीले राजनीतिक आस्थाकै आधारमा यति धेरै दुख पायौं, जुन विडम्बना हो ।

[लोकान्तरकर्मी ईश्वर अर्यालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा 'विरही'सँग गरेको कुराकानीमा आधारित]

salt training

कमेन्ट गर्नुहोस्