काठमाडौं, ८ जेठ— चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना जारी छ । ताजा मत परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवालीकै अग्रता कायमै छ ।
ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पछ्याइरहेकी छन् ।
देवी ज्ञवालीले २१२५५ मत ल्याउँदा रेणु दाहालले १९१७० मत पाएकी छिन् ।

यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले २१९९४ मत ल्याएकी छन् भने एमालेकी दिव्य आचार्यले १८८२१ मत ल्याएकी छिन् ।
काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदै गर्दा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रतालाई निकै फराकिलो पारेका छन् । उनी सोमबार बिहानको ताजा अपडेटअनुसार ८ हजार २४१ मतले अगाडि रहेका छन् ।
उनले २७०५० मत प्राप्त गर्दा कांग्रेसका राजुराज जोशीले १८८०९ मत ल्याएका छन् । यस्तै विवेकशीलकी रञ्जु दर्शनाले १०६४१ मत ल्याएकी छन् । साझा पार्टीका किशोर थापाले ७८९७ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले २४२२७ मत, राप्रपाका राजाराम श्रेष्ठले १४४२७ मत, साझा पार्टीका निरुपमा यादवले ४९९० मत र माओवादी केन्द्रका सुशीला पौडेलले ३८४३ मत ल्याएका छन् ।
यस्तै ललितपुरको मतगणना जारी छ । ताजास्थितिमा मेयरका उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनको १८३१८ मत, एमालेका हरिकृष्ण ब्यञ्जनकारको १६९८२ मत, साझा पार्टीका रमेश महर्जनको १०८०९ मत र माओवादी केन्द्रका दीपेश महर्जनको ४६४३ मत रहेको छ ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका गीता सत्यालको १४०५८ मत, साझा पार्टीका शोभा शाक्यको ११५२१ मत, माओवादी केन्द्रका हसिना शाक्यको ७५७२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधानको ६६६५ मत रहेको छ ।
यता पोखरा महानगरमा भने विवादका कारण मतगणना अबरुद्ध बनेको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले लिड गरिरहेकै अवस्थामा विवाद भएपछि मतगणना स्थगित भएको हो ।