एसोसिएटेड प्रेस (एपी) का पत्रकार थाइन जले लोकतन्त्र समर्थकहरूलाई सुरक्षाकर्मीहरूले गरेको दमनको तस्वीर खिच्दै गर्दा सुरक्षाकर्मीहरूले घेरेर कर्याप्प पारेर हतकडी लगाएको भिडियो सार्वजनिक भएको छ ।
ज र अन्य पाँच सञ्चारकर्मीहरूविरुद्ध सार्वजनिक व्यवस्था कानून उल्लंघन गरेको आरोप अधिकारीहरूले लगाएका छन् । त्यसका लागि तीन वर्षसम्मको जेल सजायको व्यवस्था छ ।
भिडियोमा ज सडकको छेउमा बसेर शनिवार तस्वीर खिचिरहेको देखिन्छ । सुरक्षाकर्मीहरूले यांगोनमा विरोधकर्ताहरूको एक समूहतर्फ दौडेको बेलामा उनले तस्वीर खिचेका थिए ।
प्रहरीहरू उनीतिर दौडन्छन् र उनी भाग्न खोज्छन् । कम्तीमा सातजनाले उनलाई घेर्छन् र कर्याप्प पार्छन् । उनलाई धक्कामुक्का दिन्छन् र तत्कालै हतकडी लगाउँछन् । एक प्रहरीले हतकडीमा समातेर उनलाई तान्छ ।
धेरै प्रहरीले लट्ठी बोकेको अनि केहीले बन्दूक र स्वचालित हतियार बोकेको देखिन्छ ।
गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि लोकतन्त्र समर्थकहरूले दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले लगातार दमन गरिरहेका छन् ।