
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।
पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्त्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।
‘सीताराम’ सम्बन्ध त्रेता युगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो ।
बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ । प्रदेश नम्बर २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।
३ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ ।
यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।
जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।
कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिने छ ।
बुद्ध एयरसँग अहिले ९ थान एटिआर–७२, ३ थान एटिआर–४२ र २ थान बीचक्राफ्ट गरी १४ जहाज छन् । कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ ।
उडान संख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।