२५ जेठ २०८३, सोमबार

दूरसञ्चार सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी छ : मन्त्री गुरुङ

फागुन २०, २०७७
दूरसञ्चार सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् ।

प्राधिकरणको २३ औं वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए ।

मन्त्री गुरुङले भने, ‘दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको छ, अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी छ ।’

उनले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औंल्याए ।

फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे । उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्‍याउन निर्देशन दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौं उपत्यका बाहेकका ५४२ स्थानीय तह, ४ हजार ४१२ वडा कार्यालय ३ हजार १२६ स्वास्थ्य केन्द्र र ३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याइएको जानकारी दिए ।

‘सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्‍याउने  उद्देश्यअनुरूप शतप्रतिशत विद्यालयमा  जडान सम्पन्न भइसकेको छ,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्