
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गरेको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उनले आफैंले उद्घाटन गरेका हुन ।
भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले आगामी निर्वाचनसम्म रूपन्देहीमा महानगरपालिका बन्ने बताए । निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गरे ।
‘आगामी निर्वाचनमा हामीले महानगरका लागि मत माग्छौं । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, देवदह सिद्धार्थनगरलाई मिलाएर महानगर बनाउँछौं,' पौडेलले भने ।
तिलोत्तमा रुपन्देहीकै केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उनले स्पष्ट पारे । उनले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकास हुने बताए ।
तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उनले नगर प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गरे ।
तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पारे ।
नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उनले यसले विकासको मानक स्थापित गरेको बताए ।
रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गरे । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै तिलोत्तमा अब अघि नै बढिरहने बताए ।
तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्याउने उनको विश्वास छ । उनले रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने गेम चेञ्जर परियोजनाहरुले जिल्लाको मुहार फेर्ने स्पष्ट पारे ।