सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपसँग गरेको समझदारीलाई शुक्रवारदेखि नै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेकपासँग गरिएको सहमतिअनुसार शुक्रवारदेखि नै काम थाल्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
बालुवाटारमा बुधवार र बिहीवार भएको वार्तामा विप्लव नेकपाको तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र केन्द्रीय सदस्य उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा 'बादल' र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सम्मिलित थिए ।
दुवै पक्षबीच तीनबुँदे सहमति भएको थियो । विप्लव नेतृत्वको नेकपाका राजनीतिक बन्दीहरूलाई रिहा गरिने, नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने लगायतका तीनबुँदे सहमति भएको हो ।
सहमति पत्र शुक्रवार औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ ।
लोकान्तर संवाददाता