०१ असार २०८३, सोमबार

एघार दिनसम्म पनि महोत्तरीका झा दम्पतीको अवस्था अज्ञात; कहाँ पुग्यो अनुसन्धान, के पाइयो 'क्लु' ?

फागुन २१, २०७७
एघार दिनसम्म पनि महोत्तरीका झा दम्पतीको अवस्था अज्ञात; कहाँ पुग्यो अनुसन्धान, के पाइयो 'क्लु' ?

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५, सहोर्वा गाउँका एक दम्पती ११ दिनदेखि बेपत्ता छन् ।

गत फागुन ११ गते राति घरमा छुट्टाछुट्टै कोठामा सुतेका ६५ वर्षीय मोसाफिर झा तथा उनकी श्रीमती गीता देवी झा ओछ्यान र झुलसहित बेपत्ता भएका थिए।

उक्त घटनाको अनुसन्धानका शिलशिलामा हालसम्म धेरै मानिससँग सोधपुछ गरिएको भएपनि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहका अनुसार हालसम्म उक्त घटनामा संलग्न हुन सक्ने कुल ४ जनालाई प्रहरी हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

'बेपत्ता दम्पतीका छिमेकी समेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, जग्गाको कारोवार गर्दै आएका भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई हिरासतमै नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं,' डीआईजी सिंहले लोकान्तरसँग भने, 'बेपत्ता भएका दम्पतीको दुईवटा झुल भने पोखरीबाट फागुन १४ गते नै बरामद गरिसकेका छौं।'

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)आलम खानको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेर घटनाको अनुसन्धान गरिरहेको भएपनि प्रहरीले हालसम्म सफलता भने पाउन सकेको छैन।

'एसएसपी सा'बको संयोजकत्वमा गठित अनुसन्धान टोलीले घटनाको विभिन्न किसिमले अनुसन्धान गरिरहेको छ,' डीआईजी सिंहले भने, 'बेपत्ता भएका दम्पतीको अवस्था हालसम्म अज्ञात रहेकाले जिउँदै वा मृत कुन अवस्थामा छन् भन्ने कुरा तर्फ अनुसन्धान केन्द्रित भएको छ।' व्यक्तिगत रिसइबी, पारिवारिक रिसइबी तथा आर्थिक रिसइबी गरेर तीनवटा कोणबाट अनुसन्धान भइरहेको उनले बताए।

बेपत्ता भएकी गीता देवीको कोठा अगाडि रगतका छिटा समेत पाइएको थियो। उनका छिमेकी रामबाबु यादवको घरअगाडि समेत रगतका छिटा फेला परेको थियो। दुवै रगतको स्याम्पल परीक्षणका लागि काठमाडौं ल्याइएको भए पनि हालसम्म त्यसको रिपोर्ट आउन बाँकी रहेको सिंहले बताए।

पक्राउ परेका चारैजनाको पोलिग्राफ टेस्ट गरिएको छ। 'पोलिग्राफ टेस्ट गर्दा हरेन्द्र र रामबाबुले कतिपय कुरा झूट बोलेको पाइएको थियो,' डीआईजी सिंहले भने, 'अपहरण गरेर बेपत्ता पारिएको, त्यसपछि हत्या गरेर कतै लास बेपत्ता बनाएको हुनसक्ने सम्भावनातर्फ पनि अनुसन्धान जारी छ।'

बेपत्ता दम्पतीलाई मारेर कतै पोखरीमा फालेको हुन सक्ने आशंकामा करीब ५० वटा भन्दा बढी पोखरीमा महाजाल (ठूलो जाल) हालेर छान्न लगाइनुका साथै बोटबाट समेत पोखरी तथा खोलाहरूमा सर्च अभियान चलाइएको उनले बताए।

त्यसबाहेक कतै जंगल, झारमा त लुकाएको छैन भनेर महोत्तरी, धनुषाका विभिन्न स्थानका जंगल, झारमा समेत सर्च अभियान चलाइएको उनले बताए। त्यसबाहेक कतै माटोमा पुरेको छ कि भनेर विभिन्न स्थानहरूमा समेत खोजी जारी रहेको उनले बताए।

प्रदेश प्रहरीको डग स्क्वाडसहित विभिन्न प्राविधिक टोलीले बेपत्ता दम्पतीको खोजी गरिरहेको भएपनि हालसम्म स्थिति अज्ञात नै छ।

पक्राउ परेका भारतीय नागरिक हरेन्द्र ठाकुर ठूलो जग्गा व्यापारी हुन्। उनले धनुषा, महोत्तरी, काठमाडौं समेत विभिन्न शहरहरूमा जग्गा प्लटिङ गर्ने, घर बनाउने र विक्री गर्ने कारोबार गर्दै आएका थिए। सोही क्रममा महोत्तरीको पिपरा गाउँपालिका स्थित बनौली गाउँमा समेत हरेन्द्रले जग्गा प्लटिंग गरेर घर बनाउने तथा बेच्ने काम गर्दै आएका थिए।

उक्त जग्गा नजिक नै बेपत्ता दम्पतीको १४ कठ्ठा जति जग्गा थियो। उक्त जग्गा बेच्नका लागि हरेन्द्र तथा उनीसँग काम गर्ने रामबाबुले दबाब दिँदै आएको भएपनि बेच्न मानिरहेका थिएनन्। त्यसै कारण उनीहरूलाई अपहरण गरेर बेपत्ता बनाएको हुन सक्ने प्रहरीको आशंका छ।

salt training

कमेन्ट गर्नुहोस्