
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयनमा आफूहरू इमान्दार रहेको बताएका छन् ।
उनले देशको भाग्य र भविष्य जनताबाट फैसला गर्न पाउनु पर्ने पनि बताए ।
वार्तामा भएको सहमति सार्वजनिक गर्न काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले जनताको भाग्य र भविष्यबारे फैसला दिने अधिकार जनताले पाउनुपर्ने बताएका हुन् ।
उनले आफूहरू अहिलेको संसदीय व्यवस्थामा सहमत नभएको पनि स्पष्ट पारे ।
‘सरकारसँग आज भएको सहमतिमा नेपाल देशलाई आत्मनिर्भर र सुन्दर देश बनाउने सपना छ, अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा छ,’ विप्लवले भने ।
विप्लवले आफूहरू सबैसँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको तर कसैले हेप्न खोजे नझुक्ने चेतावनी दिए ।
‘आज बिहान मात्रै शहीदकी आमाले भन्नुभयो– आजसम्म धेरैका इच्छा पूरा भए शहीदको चाहना पूरा भएको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । दुःख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला,’ विप्लवले भने ।