
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सपना पूरा गर्न नेत्रविक्रम चन्द विप्लवले सेफ ल्यान्डिङ गरेको बताएका छन् ।
विप्लवले यस कदमबाट नेपाली जनताको मन जितेको ओलीले बताए ।
विप्लवसँगको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवले साहस गरेको बताएका हुन् ।
‘यो फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ होइन सेफ ल्यान्डिङ हो । सेफ ल्यान्डिङमार्फत जनताका सपना पूरा गर्ने अझ प्रबल सम्भावनाको बाटोमा योगदान गर्नुभएको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले विप्लवसँग रातारात सहमति भएको नभई लामो समयदेखिको वार्ताको नतिजा भएको बताए ।
‘कतै रातारात वार्ता भनेर लेखेको पढेको थिएँ, विप्लव र मबीच ८ वर्ष अगाडि कुरा भएको थियो । एकले अर्कोलाई विश्वास गर्न थालेका थियौ, त्यसैको नतिजा हो,’ ओलीले भने ।