
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढंगले प्रधानमन्त्री बन्ने प्रस्ताव आफूले कसैलाई नराखेको बताएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा विप्लव नेतृत्वको नेकपासँग भएको सहमति सार्वजनिक गर्न आयोजित कार्यक्रममा ओलीले आफूले कसैलाई सकारको नेतृत्व गर् भनेर नभन्ने बताएका हुन् ।
साथै उनले प्रतिनिधि सभा पुनःस्थापनापछि सरकार ढाल्ने प्रयासहरू भइरहेको समेत बताए । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै प्रचण्ड–नेपाल समूहले गरेको आग्रहलाई तमासाको संज्ञा दिए ।
‘केही मान्छेहरू बर्बादै पार्न खोज्छन् देशलाई । संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको थिएँ । दलको नेता म यहाँ छु, उहाँहरू लाग्नु भएको छ मरिमेटेर । मलाई उहाँहरूलाई देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि, किनभने उहाँहरू त्यस्तै हो,’ ओलीले भने, ‘अचम्म के लाग्छ भने नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाइ भत्काएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ! हामी बनाउँछौ नि तपाईंलाई लिइदिनुस् न प्रधानमन्त्री, हामी छौं नि तपाईंको पछाडि लाग्ने भन्ने । नेतृत्व गर्न छाड्ने, नेतृत्व गरिदिनुस् भन्ने कुरा कुन आइडोलोजीमा पर्छ ? मैले पढेको मार्क्सवादमा पर्दैन ।’
ओलीले प्रतिनिधि सभा पुनःस्थापना भएपछि देशमा फेरि तमासा शुरू भएको आरोप लगाए । ‘प्रतिनिधि सभा फिर्ता आएपछि तमासा शुरू भएको छ । यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, नेपाली जनताले भोग्दै जानु पर्ला । यो पनि हेक्का रहोस् कि यो देशमा हाम्रो पार्टी पनि छ,’ ओलीले भने, ‘सरकार ढाल्ने बहुतै गम्भीर प्रयास भइरहेको छ । त्यो त २०७३ सालमा पनि भएको थियो । त्यो बेला पनि मैले भनेको थिएँ, हामी जस्केलाबाट, झ्यालबाट होइन मूल ढोकाबाट सरकारमा आउँछौं । २०७४ सालमा जनताको मन जितेर सरकारमा आएका हौं ।’
ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवको प्रशंसा समेत गरे । ‘मलाई थाहा छ यो राजनीतिमा पौडी खेल्न विप्लवलाई पनि आउँछ,’ ओलीले भने ।