
नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।
समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए। ‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ। यसलाई मैले चुनौतीको रूपमा लिएको छु। आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’, दाहालले बैठकपछि भने। उनले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए। ‘अहिले हामी छलफलमै छौं। संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ। छलफलमा छौं, एक–दुई दिनमा टुंगो लाग्छ,’ दाहालले भने। अविश्वास प्रस्तावसम्बन्धमा दाहाल–नेपाल समूह कांग्रेसको निर्णय कुरेर बसिरहेको छ। नागरिक दैनिकमा खबर छ ।