डा. रवीन्द्र समीरका लघुकथा : नक्कली जोगी, आयुको प्रार्थना

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

१. नक्कली जोगी

‘डाक्टर सा’प नमस्कार !’ 


Advertisement

१ जना मयलपोसधारी व्यक्ति डा. शर्माको क्लिनिकमा पुगे । 

‘म स्वामी डा. असीमानन्द । मैले तन्त्रमन्त्रको साधना प्रयोग गरेर रोग निको पार्ने काम गर्छु ।’


Advertisement

‘ए राम्रो !’ डा. शर्माले मुन्टो हल्लाए । 

‘म कहाँ ग्रान्डीमा, नर्भिकमा, दिल्लीको मेदान्त र एपोलो अस्पतालमा निको नभएका बिरामीहरू १ हप्ताको उपचारपछि पूरै निको भएका छन् । डिप्रेसन, माइग्रेसन, अनिद्रा त मैले ७ दिनमै चट् पारेको छु ।’ 

डा. शर्माले पत्रिका पल्टाउँदै एउटा कानले सुने, अर्को कानले उडाए ।

‘उद्योग मन्त्रालयको सहसचिव, अख्तियारको अधिकृत, नेपालगञ्जको डाक्टर, नेता, पत्रकार, वकिल लगायत धेरै जना खुशी भएर फर्किए । मन्त्रीको रातभर परेला नजोडिने रोग त २ दिनको थेरापीपछि यस्तो राम्रो भयो, अहिले राति १० बजेपछि गहिरो निन्द्रा लाग्छ भनेर आजै फोन गरेका थिए ।’

डा. शर्मालाई लाग्यो, ‘यो नक्कली डाक्टर हो । नक्कली जोगीले खरानी धेरै घस्छ । यसले मेरो सामुन्ने यतिधेरै खरानी घस्यो भने सर्वसाधारणलाई के बाँकी राख्ला र ?’

डा. शर्माले भने, ‘हामी त सर्वसाधारणलाई उपचार गर्छौं । को ठूलो, को सानो भनेर सोध्ने पनि गर्दैनौं । हाम्रो लागि रोग ठूलो–सानो हुन्छ, बिरामी ठूला–साना हुँदैनन् । निको नभएका तथा गम्भीर बिरामीलाई हामी रिफर गर्छौं । अनि तपाईं केही कामले आउनुभएको थियो कि ?’

उनले भने, ‘डा.साहेब ! मलाई टाउको दुख्छ, डर लाग्छ, डिप्रेसन छ अनि निन्द्रा फिटिक्कै लाग्दैन, त्यही भएर उपचार गर्न आएको ।’

२. परदेशको बाध्यता

खाडीको मरुभूमिमा विदेशिएको ३ वर्षपछि उसले १ महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुशीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो, ‘आजको २ हप्तामा घर आउनेछु ।’ 

सहकर्मी साथीहरूलाई पनि उसले सुनायो, ‘बुझ्यौ ! आजको २ हप्तामा केटो आफ्नै गाउँ पुग्छ ।’

कामबाट बचेको समयमा उसले किनमेल गर्ने विचार गर्‍यो । बालाई फोटो समेत खिच्न मिल्ने मोबाइल, आमालाई घडी र कपडा, श्रीमतीलाई मोबाइल, सिक्री र कपडा, छोराछोरीलाई कपडा । छिमेकका काकाहरूको परिवार, साथीहरू, विदेश जाँदा ऋण दिने कान्छा साहु, उधारो सामान दिने भक्ते दाइ, मावलीहरू, ससुराली, श्रीमतीका नजिकका आफन्त ... निकै लामो लिस्ट बन्यो ।

छोराले आइप्याड भन्दै थियो । कालीले राम्रो क्यामेरा भनेकी थिई । छोरीले साथीहरूको घरमा टाँसेको जस्तै पातलो र लामो टीभी ल्याउनु भनेकी थिई । साथीहरूले ड्युटी फ्री सपबाट टन्नै स्कच ल्याउन सम्झाइरहेका थिए ।

उसले हिसाब गर्‍यो । कतैबाट पनि हिसाब मिलेन । कसरी सन्तुलन मिलाउने होला भनेर धेरै बेरसम्म गम खाएर बस्यो ।

‘३ वर्ष विदेश बसेको हामीलाई किन सम्झन्थ्यो ?’ 

‘जाबो एक चिज त रहर गरेको हो, तोलाको वचन खोलामा फालिएछ ।’

‘फलानो आउँदा त योयो ल्याएको थियो ।’

सामना गर्नुपर्ने यस्ता सम्भावित प्रश्नहरूको कठघरामा उ उभियो । त्यसपछि उसले बलियो तर क्रूर निर्णय गर्‍यो । हरेस खाएर भोलिपल्ट घरमा फोन गर्‍यो, ‘काम गर्ने ठाउँमा इमर्जेन्सी परेर छुट्टी मिलेन । कम्पनीले टिकट पनि क्यान्सिल गरीदियो । २ वर्षपछि पक्का आउने छु ।’

३. आयुको प्रार्थना

‘मैले तपाईंको पूरा विश्वास गरेर यो अर्बाैं रुपैयाँ सुम्पेको छु । बाहिर पात नहल्लियोस्, धुवाँ नउडोस् अनि यो थैलीले दिन दुगुना रात चौगुना कमाओस् । दायाँबायाँ केही अप्ठ्यारो परे म छु । कति नम्बरी काम गर्ने हो गर्नुहोस् !’
 
उनले अझै थपे, ‘बुझ्नु भो ? यसको स्रोत खुलाउन मिल्दैन । मेरो बा, मेरो परिवारको नाममा लगानी गर्न मिल्दैन । राजनीतिक भविष्यको सवाल छ । पैसा म दिँदै गर्छु । स्वीस बैंकमा राख्ने कि, स्वदेशमा लगानी गर्ने सबै तपाईंको जिम्मा । अरू त अरू मेरो घर, गाडी तथा सम्पूर्ण जग्गाहरू तपाईंले आफन्तको नाममा किन्नुपर्छ ।’

नेताजीको दिनचर्या आजभोलि निकै तनावपूर्ण छ । राति यता फर्कन्छन्, उता फर्कन्छन् ! अहँ ! उनलाई पटक्कै निन्द्रा लाग्दैन । 

‘स्याले ! त्यो मिस्टरले धोका दियो भने म अरबपतिबाट मानसिक अस्पतालमा पुग्नेछु ।’ 

उनले मनलाई सान्त्वाना दिए, ‘मलाई धोका दियो भने आफ्नो प्राणपखेरू के हुन्छ भन्ने उसलाई राम्रोसँग थाहा छ, तसर्थ धोका दिन सक्दैन ।’ उनी ब्लु लेभल तीन पेग स्वाट्ट पारेर मज्जाले घुरे ।

बिहान उनलाई त्यही विषयमा तनाव भयो । ‘पैसा देखेपछि महादेवको त तेस्रो नेत्र खुल्छ भने त्यो गधाको के विश्वास ?’ 

उनी कालो सिसा भएको गाडी लिएर पशुपतिनाथमा दर्शन गर्न गए । उनको मिस्टरसँग त्यहीँ भेट भयो ।

दुवै जनाले हात मिलाउँदै एकअर्कालाई अँगालो हाले । 

आफ्नो जोडी दैवले जुराएको, संसारमा एकअर्काप्रति उनीहरूको जस्तो निःस्वार्थ प्रेम कसैको नभएको तथा एकआपसमा ज्यान दिन तयार भएको आदि प्रेमिल संवाद गरेपछि पशुपतिनाथको मन्दिरभित्र पसेर आँखा चिम्लेर प्रार्थना गरे ।

नेता, ‘हे प्रभू ! मेरो लामो आयु होस् । यो गधाको पनि लामो आयू होस् ।’

मिस्टर, ‘हे प्रभू ! यो बेफकुफको अचुक हृदयघात होस् । मेरो लामो आयू होस् ।’

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्