
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् ।
शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् ।
'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।'
ओलीले आफू पक्षीय सांसदहरूलाई अदालतले गरेको फैसला कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । तर संसद विघटन गर्ने आफ्नो निर्णय नै सही रहेको उनको दाबी थियो ।
'अदालतले संसद पुनःस्थापना गरेर मेरो निर्णयविरुद्ध फैसला सुनायो,' ओलीले भने, 'मेरो निर्णय सही थियो, फैसला गलत आयो । तर फैसला कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन ।'
ओलीले सांसदहरूलाई पार्टी एकढिक्का भएर जान सक्ने तर प्रचण्ड-नेपाल पक्षका नेताहरूको गतिविधि राम्रो नभएको टिप्पणी गरे ।
'प्रधानमन्त्रीको स्पष्ट निर्देशन भनेको संवैधानिक र कानूनी रूपमा संसदमा मर्यादित रूपमा एकढिक्का भएर उपस्थित हुने हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद चक्रप्रसाद स्नेहीले सञ्चारकर्मीहरूसँग भने ।
उनले आजको बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे ।
सांसदहरूले ओलीलाई जनता आफ्नो पक्षमा रहेको बताएका थिए ।
'जनता हाम्रै पक्षमा छन्, तपाईं अघि बढ्नुहोस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,' बैठकमा उपस्थित एक अर्का एक सांसदले लोकान्तरलाई भने ।
प्रधानमन्त्रीले गरेका कामहरूमा चौतर्फी बाधा सिर्जना भएको र त्यसलाई चिर्न आफूहरू तयार रहेको ब्रिफिङ सांसदहरूले ओलीलाई गरेका थिए ।
अर्का सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै भने, 'भोलि हाम्रो संख्या १ सय २० पुग्छ । तपाईंहरू आत्मविश्वासका साथ एक ढिक्का भएर अघि बढ्नुस ।'
ओलीले देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदहरूलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिएका हुन् । 'हामी देश र जनताको पक्षमा छौं । जित हाम्रो हुन्छ,' ओलीले भने ।
सांसद भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पास हुन नसक्ने दाबीसमेत गरे । 'अविश्वासको प्रस्ताव आए पनि जे आएपनि जसरी सरकार अघि बढेको छ त्यसहिसाबले पास हुँदैन, ढुक्क हुनुस्,' भट्टराईले भने ।
भट्टराईले प्रचण्ड-नेपाल समूहले ढोका थुनेर मिटिङ गरेको आरोपसमेत लगाए ।
शुक्रवार प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । यो समूहले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।
आइतवार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठक अघि नेकपाका दुवै पक्षले आफ्नोतर्फ बहुमत रहेको दाबी गर्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।