३० जेठ २०८३, शनिबार

भोलिदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान, भक्तपुरमा ५३ हजारलाई लगाइने

फागुन २२, २०७७
भोलिदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान, भक्तपुरमा ५३ हजारलाई लगाइने

दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ । 

भोलि फागुन २३ गतेबाट शुरू हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

भक्तपुरका ४ वटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर ज्येष्ठ नागरिकलाई खोप दिने भएको उनको भनाइ छ ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०/१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११/११ गरी कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ । फागुन २३ गतेबाट ९ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिए । त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरूलाई पनि दोस्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त १ खोपकर्ता र ३ स्वास्थ्यकर्मी खटाइने भएको छ । दोस्रो चरणको खोपअभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, १ हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ ।

खोप अभियान सफल पार्न वडास्तरीयदेखि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरीवेक्षण र अनुगमन गरिने भएको छ । 

स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आईसीयू सहितको उपचार व्यवस्था गरिएको बताए । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थ्यमा जटिल समस्या नआए पनि पूर्व तयारी भने गरिरहेको उनको भनाइ छ ।

खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसूस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भए पनि यस्ता लक्षण १–२ दिनमै आफैं निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ । – रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्