
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमुलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिएका छन् ।
शनिवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पहिलो साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
यसअघि सरकारले कोरोना कहरबाट प्रभावित उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेपनि होटल र पर्यटन क्षेत्रलाई विद्युत प्राधिकरणले छुट दिएको थिएन । तर अब भने होटल तथा पर्यटन उद्योगले पनि डिमाण्ड छुट पाउने भएका छन् ।
पर्यटन क्षेत्रका उद्योगी व्यवसायीहरूको माग बमोजिम सरकारले यस्तो निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए । उनले भने,‘होटल तथा पर्यटन व्यवसायीहरूले सबैभन्दा बढी मार खाने हामी, अनि हामीलाई चाहिँ छुट नदिने ? भन्ने सुझाव दिनुभयो । त्यसैअनुरुप अस्ति भर्खर क्याबिनेटले उहाँहरूलाई पनि छुट दिने निर्णय गरेका छौं ।’
गत साउनदेखि लागु भएको विद्युत महशुल संकलन विनियमावलीअनुसार १ सय ३२ केभिए लाइनबाट विद्युत लाने ग्राहकले डिमाण्ड शुल्कबापत प्रति केभिए प्रति महिना २ सय ३० रुपैयाँ लिँदै आएका थिए ।
यस्तै ६६ केभीए केभिए लाइनबाट विद्युत लाने ग्राहकले डिमाण्ड शुल्कबापत प्रति केभिए प्रति महिना २ सय ४० रुपैयाँ डिमाण्ड शुल्क तिर्दै आएका थिए ।