काठमाडौं, ८ जेठ –सरकारले आगामी आर्थिक वर्ष (आव) २०७४/७५ को बजेट जेठ १५ मै ल्याउने भएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा बजेट ल्याउने/नल्याउने वा बजेटका आकारका सम्बन्धमा शंका–उपशंका रहँदा अर्थ मन्त्रालयले जेठ १५ मै पूर्ण आकारको बजेट ल्याइने प्रश्ट पारेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा सोमवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुरुप जेठ १५ मै बजेट ल्याईने प्रष्ट पारेका हुन् । हाल बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय जुटिरहेको उनले बताए ।
आगामी आवका लागि राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको सिलिङ तोकेको छ ।
आगामी आवको बजेटमा नयाँ कार्यक्रम भने नल्याईने अर्थसचिव शान्तराज सुवेदीले बताए । संविधान कार्यान्वयनका लागि आवश्यक कार्यक्रममात्र नयाँ बजेटमा समेटिने उनले बताए । ‘चालू आवकै नियमित र संविधान कार्यान्वयनका लागि आवश्यक कार्यक्रम सूचारु गर्नेगरी नयाँ बजेट आउँछ,’ उनले भने । स्थानीय तह, प्रदेश तह र केन्द्रको निर्वाचन भने बजेटको नयाँ कार्यक्रमका रुपमा रहनेछ । भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिने अर्थ सचिव सुवेदीले बताए ।
अर्थमन्त्री महराले चालू आवमा ८४ प्रतिशतसम्म पूँजीगत खर्च हुने दावी गरे ।
यसअघि आईतवार सरकारले आगामी आव २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । यही बिहीवार उक्त नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापीका संसदमा पेस गर्नेछिन् । आजैदेखि बजेट अधिवेसन पनि सुरु भइसकेको छ ।
बजेट एप सार्वजनिक
यसैबीच अर्थ मन्त्रालयले सोमवार बजेट ‘एप्स’ सार्वजनिक गरेको छ । अर्थमन्त्री महराले उक्त एप सार्वजनिक गरेका हुन् । एपमा बजेटसम्बन्धी सम्पूर्ण जानकारी समेटिएको छ ।
यस एपमा बजेट बक्तव्य देखि रातोरपहेँलो किताब, आर्थिक सर्वेक्षण सबैको जानकारी लिन सकिने मन्त्रालयले बताएको हो । हाललाई एन्ड्रोइड भर्सनमामात्र यो सुविधा प्राप्त हुनेछ ।