नारी पुरुष बराबर : लेख्न सकियो तर देख्न सकिएन !

भरत केसी
भरत केसी

केसी समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

सन् २०२० को शुरूआतमा दक्षिण भारतमा एउटा चलचित्र रिलिज भएको थियो । जसको नाम थियो ‘डियर कमरेड’ । जसले लैंगिक हिंसालाई जबरजस्त उठान गरेको थियो ।

चलचित्रकी मुख्य पात्र लीलीको सपना हुन्छ उत्कृष्ट क्रिकेटर बन्ने । यसका लागि उसले राष्ट्रिय छनोट खेलको तयारी पनि गरिरहेकी थिइन् । लीलीको उत्कृष्ट महिला क्रिकेटर बन्ने सपना त्यहाँनेर तुषारापात हुन्छ, जब १ जना पुरुष अध्यक्षले आफ्नै कार्यकक्षमा बोलाएर आफूसँग एक रात बिताए मात्र राष्ट्रिय छनोटमा पार्ने भनेर यौन दुर्व्यवहार गर्न शुरू गर्छ ।


Advertisement

यौन दुर्व्यवहार, हिंसा र अत्याचारले महिलाको जीवन कसरी तहसनहस हुन्छ भन्ने कुरा चलचित्रको गुदी हो । यही विषयको वरिपरि चलचित्र घुमेको पाइन्छ । 

यो चलचित्र एउटा प्रतिनिधि उदाहरण मात्र हो । हामी कहाँ पनि यस्ता धेरै क्षेत्रमा महिलाले बारम्बार पुरुषबाट प्रताडित हुनुपरेका अनगिन्ती किस्सा छन् । 


Advertisement

दिनैपिच्छे हुने गरेका महिला हिंसाको विरोधमा कालो पहिरन, कालोपट्टी बाँधेर कहिले प्लेकार्ड बोकेर, कहिले नारा जुलुस गरेर कहिले सञ्जालमा तस्वीर ‘ब्ल्याक आउट’ गरेर प्रतिकात्मक विरोध गरिरहनुपरेको छ ।

हिजोआज सामाजिक सञ्जालको जगमा महिला थिचोमिचोविरुद्ध दबाब दिने उद्देश्यले डिजिटल आन्दोलन छेडेर समाजलाई खबरदारी गरिएको प्रस्ट बुझ्न सकिन्छ । यसलाई महिला जागरणको एक हिस्सा पनि मान्न सकिन्छ । 

एकदम कम पुरुषले आफ्नी पत्नीलाई आफ्नै दर्जामा स्वीकार गर्छन् । ज्यादातर हैकमवादी पुरुषले महिलाका स्वतन्त्र विचारलाई किलामा गोरु बाँधेझै बाँधेका छन् । सदियौंदेखि पुरुषवादी माखेसाङ्लोमा नारीले कष्टकर अवस्था व्यहोरिरहनुपरेको छ । 

आफ्नो पितृसत्तात्मक शासन टिकाइरहन महिलामाथि जतिसुकै ठूलो अन्याय गर्न पनि तत्पर रहन्छ । विवेकशील र जुझारु महिलाका विचारहरू निमोठिन्छन् । परिवर्तनगामी आवाजहरू दबाइन्छन् । पुरुषवादी शक्तिको आडमा पाइला–पाइलामा मानसिक प्रताडनमा पारिन्छ । 

‘नारी पुरुष बराबर, एक सिक्काका दुई पाटा’ ! किताबमा खुबै पढ्छ समाजले तर किताबका पानाभन्दा बाहिर कहिल्यै ल्याउन चाहेन । नारी पुरुष बराबर लेखिएको पनि धेरै वर्ष बितेको छैन । लेखाउन मात्र पनि नारीले धेरै ठूलो बलिदानी दिनुपरेको छ । नारी पुरुष बराबर लेख्न सकियो तर कहिल्यै देख्न सकिएन ।

दमन काकाले महिला साक्षरता सम्बन्धी तालिममा वरको चौतारोमा उभिएर भनेको कुरा मलाई झलझल्ती याद आउँछ, ‘महिलालाई शिक्षा दिनुपर्छ । जागरुक बनाउनुपर्छ ।’ भरे घर गएर काकीलाई खुब भकुर्थे । हो यही हो हाम्रो समाजको प्रतिबिम्ब । नारी शोषण गाउँमा पनि छ शहरमा पनि छ, बस तरिका मात्र फरक छ ।

सानो छँदाको घटना याद आउँछ । आमाहरू धारामा पानी भर्न जाँदा होस् चाहे खोलामा लुगा धुन । २ जना महिला एकआपसमा भलाकुसारी गरिरहँदा बाहरूले भन्न भ्याउँथे, ‘आईमाईको जात अरुको कुरा नकाटी खानै पच्दैन ।’ बाहरू भने बिहानै उठेर २ ठाउँ जान्थे । पहिलो चर्पी जान्थे पेट खाली गर्थे र फेरि पेट भर्थे । दोस्रो चिया पसल जान्थे । गाउँभरिका पुरुषको पुरुषत्व प्रदर्शन गर्ने थलो थियो चिया पसल । 

शरीरको छायाँले सानो आकार नलिउञ्जेलसम्म बाहरू दुनियाँभरका बेतुकका गफ चुट्दै हाहा हुहु गरिरहन्थे चिया अड्डामा । उता घरमा आमाहरूले बाका लागि मध्याह्नको भोजन तयार पारेकी हुन्छिन् । चिया पसलको ड्युटी सकेर बाहरू खाना खान्थे र सिधै तासको रमझममा जुट्थे । उता आमा भने बाको जुठो थाल माझेर घरायसी काममा जुट्थिन् । प्रायःजसो बा र आमाहरूको दिनचर्या यस्तै–यस्तै हुन्थ्यो । 

डामेका साँढेझै बेकामे फिरन्ते बाहरूको आमाले कहिल्यै कुरा काटिनन् र अभद्रता देखाइनन् । तर सारा घर चलाउने आमाहरूको बाले कहिल्यै कुरा काट्न र दमन गर्न बाँकी राखेनन् । आमाले अलि ठूलो स्वरले कहिल्यै बोल्न जानिनन्, आईमाईले चर्को बोल्दा अलच्छिन लाग्छ भनि बन्देज थियो तर बाले आमालाई थर्काउदा १० गाउँ हल्लिन्थ्यो । बाहरूले हजार गल्ती गर्दा पनि सामान्य हुन्थ्यो, आमाले १ गल्ती गर्दा हजार सजाय भोग्नुपर्थ्यो । बाहरूका फिरन्ते बानी आमाहरूलाई कहिल्यै गलत लागेनन् तर आमाहरूले एकआपसमा गरेको भलाकुसारी पनि बाहरूलाई अपराधझै लाग्थ्यो । हो यही हो हाम्रो समाजको प्रतिबिम्ब । गाउँ होस् वा शहर आज पनि बाहरूले आमाहरूलाई यसरी नै हेप्छन् । यसरी नै हकार्छन् । बस तरिका फरक छ । आमाले चलाएको घर यस्तो लाग्छ, मानौ स्वर्ग हो । यदि देश चलाउन पाए भने ? यस प्रश्नको उत्तर लेखकले दिइरहनु पर्दैन सायद ।

अहिले शृंखलावद्ध रूपमा भइरहेका महिला हिंसा, दमन र बलात्कार जस्ता जघन्य अपराधको धरातल भनेकै पुरुषवादी समाजले महिलामाथि गरेको हेय र शासनको उपज हो । हाम्रा कूरीतिपूर्ण संस्कार पनि यसका मूलभूत कारण हुन् । विषय महिलामाथि हुने हिंसाको मात्र होइन, व्यवहारको पनि हो । छोरी मान्छेमाथि समाजले राख्ने धारणा, विचार, व्यवहार पनि महिला हिंसाका जड हुन् ।

महिलामाथि प्रयोग गरिने विशेषण पनि खेदजनक छन् । रत्नपार्कका टेम्पो चालक महिलाले सुन्दै आएको शब्द हो ‘पोथी टेम्पो’ । यो फगत शब्द मात्र होइन, नारीप्रति गरिएको उपहास हो । राम्रो लेख्न सक्नेलाई ‘पोथी लेखक’, राम्रो गाउन सक्नेलाई ‘पोथी गायक’का पगरी गुथाइन्छ । यी सबै एक ऊर्जाशील नारीप्रति गरिएका शाब्दिक दमन हुन् । कुनै विषयमा छोरी मान्छेले आफ्नो वौद्धिकता प्रदर्शन गर्न थालिन् भने समाजले त्यो पनि सहन सक्दैन र आफूमाथिको अत्याचार ठान्छ । अर्को उपमा थपिहाल्छ, पोथी कराएको ठीक हुँदैन ! अनि यतिका वर्षसम्म भाले ठान्ने पुरुषले महिलामाथि गरेका अत्याचारको लेखाजोखा खै ?

वैदिककालमा रक्तबिज, महिषासुर, शुम्भ–निशुम्भ जस्ता बलवान असुरलाई मार्न नसकेर माँ काली दूर्गाको आराधना गर्ने शिव, विष्णु, ब्रह्मा (अर्थात् पुरुष समाज) ले पनि विभिन्न कालखण्डमा आदिशक्ति (मातृशक्ति) को शरण जानुपरेको थियो । वेदमा थुप्रै विदुषी नारीले ऋचाको वाचन गरेको भनिएको छ । पञ्च – महायज्ञ, श्राद्ध, बलि, हविष्य आदिको आधार पनि नारी नै थिए । वेदले नारीलाई ‘श्री’ र ‘लक्ष्मी’ भनेको छ, जो घरमा सुख र समृद्धि सिर्जना गर्छन् । जब कि यावत कार्यको जननी नै नारी स्वयं हुन भने बन्देज किन ?

छोरीले गायत्री मन्त्र पढ्नुहुन्न, मलामी जानुहुन्न, हवन गर्नुहुन्न, जमरा रोप्नुहुन्न, दागबत्ती दिनुहुन्न, खेतबारी जोत्नुहुन्न यी सब गर्दा घोर अनिष्ट पैदा हुन्छ भनी समाजमा भ्रम फैलाउने कट्टरवादीहरू अझै छ्याप्छ्याप्ती छन् । यो सब नारी स्वतन्त्रतालाई कुण्ठित पार्ने फगत ‘निन्जा टेक्निक’ हो ।

वैदिक समयमा नारीको समाजमा ठूलै हिस्सा रहन्थ्यो । समाज परिचालन गर्नेदेखि एकल सन्तान प्राप्तिसम्मको अधिकार राख्दथे । सन्तानहरू पिता विना नै आमाबाट परिचित हुन्थे । सन्तान प्राप्त गर्न बाको उपस्थिति जरुरी रहँदैनथ्यो, जन्मको अवस्था भलै फरक हुन्थ्यो । महान् धनुर्धर अर्जुन उनकी आमा कुन्तीका नामले चिनिन्थे । सीताका २ पुत्र लव र कुश पिता राम विनै परिचित भएका थिए । तर आज नारीको अस्तित्वलाई नै संकुचन पारिएको छ । 

नारी अधिकारलाई कुण्ठित पार्न, घरघरमा महिलाका लागि कानून बनाइएका छन् । धारा उपधाराभित्र पनि टोपी लगाइएका नियम बनाइएका छन्, नारीको स्वतन्त्रतालाई हत्या गर्नका लागि । यो किमार्थ सही होइन ।

जबसम्म महिलाका मुद्दा पुरुषका पनि साझा मुद्दा बन्दैनन्, तबसम्म महिला सशक्तीकरणका मुद्दा फितलो नै रहनेछन् । महिला उत्थानका लागि पुरुषको आवाज उठेन भने मान्नुस् समाज पनि उठेन । महिला उत्पीडनका स्वरहरू महिला र पुरुष दुइटैबाट हातेमालो गर्दै गुन्जिए मात्र यसले सार्थकता पाउने छ । 

नारी हिंसा र लैंगिक असमानताबारे पुरुष स्वयंले लेख्ने, बोल्ने र आवाज बुलन्द नपारेसम्म यसलाई न्यूनीकरण गर्न फलामको चिउरा चपाउनुसरह हुनेछ र खाडल झन् बढ्दै जानेछ । यदि महिला हिंसाप्रति पुरुषको ध्यानाकर्षण भएन भने दोषीले झनै आत्मबल पाउने छ । महिला हिंसाविरुद्ध पुरुष र पुरुष हिंसाविरुद्ध महिला एकसाथ उभिँदैनन् भने बुझ्नुस् मानव अधिकारको अर्थ पानीमा फालिएको अगुल्टोको झ्वाइँभन्दा ठूलो हुने छैन ।

भरत केसी
भरत केसी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्