
सर्वोच्च अदालतले २०७५ जेठ २ को अवस्थामा फर्काइदिएपछि संसद्को सबैभन्दा ठूलो एवं सत्तारुढ दल नेकपा एमालेभित्रको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने विषयमा आमचासो देखिएको छ ।
सर्वोच्चको फैसलाले नेताहरूलाई पार्टीको तत् तत् जिम्मेवारीमा त फर्काएको छ, तर यसबीचमा आरोप प्रत्यारोप र तिक्तता यो हदसम्म बढ्यो कि नेताहरूको मन मिलिहाल्न त्यति सहज देखिँदैन ।
जसको पुष्टि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबूक स्टाटसले पनि गर्छ । थापाले मंगलवार फेसबूकमा लेखेका छन्–
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । जनताले दुईतिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।
तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई साधारण सदस्यबाटै निस्कासन गरेको थियो । उक्त समूहमा ५० प्रतिशत हिस्सेदारी रहेको माधव नेपाल समूह सर्वोच्चको फैसलापछि स्वतः एमाले भएको छ ।
तिक्तताको अर्को उदाहरण प्रधानमन्त्री केपी शर्मा ओली र पुनःस्थापित एमालेका उपाध्यक्ष भीम रावलबीचको जुहारीमा नियाल्दा पनि हुन्छ । सर्वोच्चको फैसलापछि भीम रावलले संसदबाट सोधे– ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’
त्यसको भोलिपल्ट सोमवार नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जवाफ फर्काए–
‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो ! अब मैले उहाँहरूलाई सोध्नु नपरोस्, तपाईंहरू कुन पार्टीको ? म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’
सहज छैनन् भावी दिन !
एमालेको राजनीतिलाई नजिकबाट चिन्ने पुराना कम्युनिस्ट नेता आरके मैनालीले यही सरकार कायम रहने हो भने एमालेभित्रको पुरानो विवाद छिट्टै पटाक्षेप हुने बताए । यदि अर्को दलको सरकार बनेमा वा एमाले भित्रैको दोस्रो व्यक्ति प्रधानमन्त्री बनेको अवस्थामा भने मिलेरै जाने सम्भावना रहेको उनको विश्लेषण छ ।
‘यो वैचारिक विवाद थिएन । पार्टी एकता पनि वैचारिक थिएन । सत्ताको खेल भएकाले फर्किन कुनै अप्ठ्यारो त हुँदैन,’ मैनालीले भने, ‘सत्ता स्वार्थको द्वन्द्व हो, द्वन्द्व त चालू हुन्छ । यदि सरकार बदलियो भने चुनावसम्मको आगामी २ वर्ष फरक रूपले बित्ला, तर ओलीजीकै नेतृत्व कायम रह्यो भने यसको छिट्टै पटाक्षेप हुने देख्छु ।’
ओली र माधव नेपालको दम्भ तथा मनोविज्ञानले यी दुईलाई कहिल्यै मिल्न नदिने मैनालीले बताए । सोही कारण दाउपेच र पेलापेलको राजनीति भएको उनको विश्लेषण छ ।
‘ओलीजीमा आफू सिनियर हुँ भन्ने दम्भ छ । १५ वर्ष महासचिव भएर पार्टीको नेतृत्व गरेका कारण म सिनियर हुँ भन्ने माधवजीलाई पनि लाग्या छ । यही मनोविज्ञानले नै उहाँहरूका बीचमा एकले अर्कालाई ढाल्ने खेल भयो । माधवजीले पनि आफू शक्तिमा हुँदा दपेचेकै हो । अहिले ओलीले त्योभन्दा बढी पेल्नु भयो,’ मैनालीले भने ।
यीनै नेता राजनीतिमा रहँदासम्म कम्युनिस्ट आन्दोलन माथि उठ्न नसक्ने मैनालीले बताए । ‘सचिवालयका शीर्षस्थहरूले विश्राम लिए भने कम्युनिस्ट आन्दोलनको नयाँ धार आउन सक्छ । ओली, माधव, झलनाथ, वामदेवले नयाँ नेतृत्वलाई पार्टी र सरकार जिम्मा लगाउने भए भने कम्युनिस्ट आन्दोलन फेरि भर्भराउँदो हुनसक्छ । यीनै नेता यही रूपले बसेर एक हुँदैन, अरू धेरै धरासायी हुन्छ ।’
विधि र प्रक्रिया मिचे, मनोमानी गरे चुप बस्दैनौं– युवराज ज्ञवाली, उपाध्यक्ष
सर्वोच्चको फैसलापछि आफूहरू स्वतः एमाले भएको भन्दै पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले अब पुरानो घरलाई सफासुग्घर बनाउन लागिपर्ने बताए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूहरू दुवै पक्ष एकसाथ पुरानो घरमा फर्किएको तर्क उनको छ ।
‘असत्य जतिपटक बोले पनि सत्य, सत्य नै हुन्छ । केपीका केही मान्छेले अन्टसन्ट बोल्दैमा सत्य बदलिँदैन । एमाले हामीले बनाएको पार्टी हो । केपीजी पनि फर्किनुहुन्छ, हामी पनि फर्किन्छौं,’ माधव नेपालनिकट मानिने उपाध्यक्ष ज्ञवालीले भने, ‘घरलाई सफासुग्घर बनाउँछौं । अध्यक्ष केपीजी नै हुनुहुन्छ । हाम्रो विधान छ । नवौं महाधिवेशनमा बनाएको विधानअनुसार चल्छौं ।’विधि र प्रक्रियाअनुसार हुने निर्णय मान्ने बताएका ज्ञवालीले पेलेर जान खोजिए आफूहरूका लागि तमाम विकल्प खुला रहेको बताए ।
‘यदि केपीजी विधि र प्रक्रियाअनुसार चल्न चाहनुभएन भने के गर्नुपर्छ, हामी पनि राजनीतिक प्राणी भएकाले त्यो अनुसार गर्छौं । विधान नमान्ने, मनलाग्दी गर्ने हो भने देशव्यापीरूपमा सबै विकल्प खुला छ, हामी जान्दछौं,’ ज्ञवालीले भने, ‘आवश्यक परे केसम्म गर्न सकिन्छ भन्नेमा दूरदृष्टि राखेका छौं । विघटन गलत थियो भनेर लडेकै हो । लाखौं कार्यकर्ता सडकमा उतारेकै हो । हामीसँग जनमत छ । चुप लागेर बस्दैनौं ।’
उनले सर्वोच्चले छुट्ट्याइदिए पनि सिंगो कम्युनिस्ट आन्दोलन एक हुनुपर्छ भन्नेमा आफूहरू अझै दृढ रहेको बताए ।
‘केपी र प्रचण्डकै प्रस्तावमा एमाले र माओवादी एउटै पार्टी बनाएर जसरी अगाडि बढेका थियौं, त्यो नै सही कोर्ष हो । त्यस्तो नभएको भए बहुमत आउने थिएन । अहिले पनि दुई पार्टी एकताबद्ध भएर जाने नै मुलुकको आवश्यकता हो,’ उनले भने ।
पार्टी अब कसरी अगाडि बढ्छ भन्ने कुरा प्रधानमन्त्री ओलीको कार्यशैलीमा भर पर्ने उपाध्यक्ष ज्ञवालीले बताए ।
‘उहाँबाट धेरै ठूलो अपेक्षा भन्दा पनि विधान र नियमबमोजिम चल्ने, छलफल गरेर निर्णय गर्ने, सल्लाह गरेर अगाडि बढ्ने गर्दिनुभयो भने राम्रोसँग चल्छ । एकलौटी लाद्ने काम गर्नुभयो भने सशक्तरूपमा प्रतिवाद गरेर अगाडि बढ्छौं,’ ज्ञवालीले भने ।
नेतृत्वलाई सफल बनाउने गरी अगाडि बढे कुनै समस्या हुँदैन– आनन्द पोखरेल
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेता आनन्द पोखरेलले शीर्षस्थ नेताहरू पार्टीको नेतृत्वलाई सफल बनाउने गरी अगाडि बढे कुनै समस्या नहुने बताए ।
‘पूर्व व्यवस्थामा आउँदा नेकपामा जो–जो थिए, सबै सँगै आउनु स्वागतयोग्य कुरा हो । अब सबै सँगै मिलेर केपी ओलीको नेतृत्वलाई सफल बनाउने गरी अगाडि बढे कुनै समस्या हुँदैन,’ पोखरेलले लोकान्तरसँग भने ।
पार्टी एवं सरकारको नेतृत्वलाई असफल बनाउन लागिपरेकाहरू आत्मालोचित भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
‘राष्ट्रिय स्वाधिनताको लडाईं र ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारामा अगाडि बढ्नुपर्छ । आजको नायक केपी ओली हो । उहाँले खेलेको भूमिकालाई देख्न नसक्नेहरूले ओलीलाई हटाउन खोजेका छन् । नेताहरू पराइको बुई चढ्न छाडेर आत्मालोचित भएर अगाडि बढ्नुपर्छ,’ पोखरेलले भने ।
पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरा माधव नेपाल समूहको आगामी गतिविधिले निर्धारण गर्ने उनले बताए ।
‘मलाई के लाग्छ भने उहाँहरूले नेकपा एमालेले गर्ने निर्णय मानेर जाने हो । एमालेमा बसेर फेरि सरकारको आलोचना गर्ने, भागबण्डाको कुरा गर्ने हो भने नयाँ विवाद जन्मिन्छ । यो बीचमा जे–जे आरोह/अवरोह झेलेको छ, त्यसको समीक्षा पक्कै गर्नुभएको होला,’ उनले भने ।
उनले फेरि पनि एकताका नाममा ओलीको नेतृत्वको विकल्प खोज्न नसकिने बताए । ‘केपी ओलीको नेतृत्व र उहाँले अगाडि बढाएको विचारलाई थाती राखेर एकता सम्भव छैन,’ पोखरेलले भने, ‘पार्टीभित्रै देखिएको समस्या समाधान गर्ने हो भने पनि एकपटक पार्टीको नेतृत्व गरिसकेको वा प्रधानमन्त्री भइसकेका नेताहरूलाई संरक्षक परिषद्मा राखेर अगाडि बढ्नुपर्छ ।’
उनले अब एमाले चारवटा विषयबस्तुलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताए ।
‘जतिबेला पार्टीभित्र अन्तरविरोध चर्केको थियो, त्यतिबेलै मैले के भनेको थिएँ भने पहिलो, यो स्वाधिनता र आत्मसमर्पणवादी बीचको लडाईं हो । केपी ओलीले स्वाधिनताको लडाईंको नेतृत्व गर्नुभएको छ । दोस्रो हाइटमा पुगेको कम्युनिस्ट आन्दोलन विघटनको दिशातिर गयो, त्यसलाई पुनर्गठनका लागि अगाडि बढ्नुपर्छ । तेस्रो, यो समृद्धिको युग हो, सुखी नेपाली समृद्ध नेपालको नाराका लागि अगाडि बढ्नुपर्छ र चौथो विचारको रूपमा जनताको बहुदलीय जनवादलाई अगाडि बढाउनुपर्छ,’ पोखरेलले भने ।