
प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि नेपाल नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय कसैको विजयको विषय नभई सबैको विजय भएको उनले बताए ।
राष्ट्रिय सुरक्षा परिषद्को वार्षिकोत्सव समारोहलाई बुधवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विखण्डन र साम्प्रदायिक विद्वेष अन्त्य भएर मुलुक शान्तिको नयाँ अध्यायमा प्रवेश गरेको बताए ।
‘नेपाली समाज क्रमशः अनुकूल वातावरणमा अगाडि बढेको छ, पृथकतावादी मूभभेन्ट अन्त्य गरेर, पृथकतावादी टुंग्याएर राष्ट्रिय एकताको भावनामा अगाडि बढ्यौं,’ ओलीले भने, ‘नेपालबाट आन्तरिक हिंसा पनि टुंगिएको छ । हिंसाको बाटो लिएको समूहलाई पनि बेठीक बाटो छाडेर शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्किने वातावरण दियौं, प्रेरणा हौसला दियौं ।’
प्रधानमन्त्री ओलीले लडेर मात्र नभई मिलाएर पनि शान्ति स्थापना सम्भव भएको बताए ।
‘विखण्डनवाद र हिंसाको अन्त्यपछि नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं । यी हाम्रा प्रयासको प्रतिफल हो । सुरक्षा परिषद् लड्ने/भिड्ने मात्र होइन मिलाउन पनि जानेको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले अरूले खल्बलाएको शान्ति पुनःस्थापना गरिदिने काममा नेपाली सेनाले आफूलाई जोखिममा राखेर योगदान गरेको भन्दै सेनालाई विवादमा ल्याउन खोज्ने प्रवृत्ति गलत भएको बताए ।
‘नेपाली सेनाले सेवाको क्षेत्र र निर्माणको क्षेत्रमा पनि जनताको मन छुने काम गरेको छ । मन छुने कुराको निर्देश सुरक्षा परिषद्ले निर्देश गरिरहेको हुन्छ । नेपाली सेनालाई अनावश्यक रूपमा विवादमा तान्न खोज्ने, अथवा अपमान गर्न या प्रोभोक गर्न खोज्ने प्रवृत्ति देखिन्छ,’ ओलीले भने, ‘सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने, कसरी विरोध गर्न सकिन्छ भनेर हिलो छ्याप्ने कुरा गर्नु हुँदैन,’ ओलीले भने ।