सार्वजनिक बसमा यात्रुहरूको भीडको फाइदा उठाएर पाकेटमारी गर्ने गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिमध्ये अधिकांश यसअघि पनि अभद्र व्यवहार, चोरी, लागूऔषध, ठगी, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा अन्य आपराधिक मुद्दामा अनुसन्धानको दायरामा परिसकेको अभिलेख रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरू अन्य पाकेटमारीका घटनामा समेत संलग्न रहे–नरहेको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन ६ गते अपराह्न करिब २:३० बजे बनेपा नगरपालिका–८ चाँदनीचोकबाट सार्वजनिक बस चढेर काठमाडौं आउँदै गरेका ७४ वर्षीय तीर्थबहादुर तामाङको जाकेट काटेर नगद २६ हजार रुपैयाँ चोरी गरिएको थियो ।
सामान खरिदका लागि हिँडेका तामाङले रकम चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले सोही दिन साँझ करिब ५:३० बजे बनेपा नगरपालिका–४ तीनदोबाटो क्षेत्रमा काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसमा चढ्ने क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोद आले मगर, सोही स्थानका ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, बेथानचोक–६ कै ३० वर्षीय सोनाम लामा र मकवानपुरको फापरबारी गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण मगर रहेका छन् ।
प्रहरीका अनुसार यही समूहले गत असार ३० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ निवासी ४१ वर्षीय रामशरण सार्कीको पाकेटबाट नगद ९० हजार रुपैयाँ चोरी गरेको आरोपसमेत लागेको छ ।
उक्त घटनामा पीडितले उनीहरूलाई सनाखत गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले एउटै घटनामा मात्र नभई अन्य पाकेटमारीका घटनामा पनि यो समूह संलग्न हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आकाश भन्ने विनोद आले मगरविरुद्ध अभद्र व्यवहारका तीनवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुई वटा काठमाडौंको कालीमाटी प्रहरी वृत्तमा र एउटा इलाका प्रहरी कार्यालय बनेपामा दर्ता भएको उल्लेख छ ।
उनीविरुद्ध २०७६ असार १२ गते जिल्ला प्रहरी परिसर ललितपुरमा लागूऔषध बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा पनि दर्ता भएको प्रहरी अभिलेखमा उल्लेख छ । साथै, चोरी सम्बन्धी तीनवटा मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ ।
दोस्रो आरोपी रिक्सन तामाङ भन्ने श्याम तामाङविरुद्ध २०८१ असोज २ गते प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसपछि गौशाला प्रहरी वृत्तमा दुई वटा र महाराजगञ्ज प्रहरी वृत्तमा एउटा गरी अभद्र व्यवहारका थप तीनवटा मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ ।
उनीविरुद्ध २०८२ भदौ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी, सोही वर्ष पुस २३ गते प्रहरी वृत्त बौद्धमा सार्वजनिक शान्तिविरुद्धको कसुर तथा चैत २२ गते इलाका प्रहरी कार्यालय बनेपामा चोरी सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
तेस्रो आरोपी सोनाम लामाविरुद्ध २०७५ असार १२ गते जिल्ला प्रहरी परिसर काठमाडौंले केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाएको अभिलेख रहेको प्रहरीले जनाएको छ । त्यसपछि २०७६ साउन २९ गते प्रहरी वृत्त जगातीमा बगली मारेको घटनासम्बन्धी मुद्दा चलेको थियो ।
त्यसैगरी, २०८२ असार १६ र २३ गते इलाका प्रहरी कार्यालय सुनसरीमा नकबजनी चोरी सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा लामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला सुनसरीको झुम्का कारागारबाट फरार भएको तथ्यसमेत खुलेको छ ।
चौथो आरोपी बालकृष्ण मगरको हकमा भने प्रहरीले हालसम्म कुनै पुरानो आपराधिक मुद्दाको विवरण फेला नपरेको जनाएको छ । यद्यपि, उनी पनि यही समूहसँगै पक्राउ परेका कारण उनीमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरू अन्य सार्वजनिक बसमा भएका पाकेटमारीका घटनामा समेत संलग्न थिए वा थिएनन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार सार्वजनिक बसमा भीडभाड, यात्रुहरू उभिएर यात्रा गर्नुपर्ने अवस्था, चढ्ने–ओर्लने क्रममा हुने धक्का–मुक्का तथा यात्रुको ध्यान अन्यत्र मोडिने अवस्थाको फाइदा उठाएर यस्ता अपराध हुने गरेका छन् ।
विशेष गरी ज्येष्ठ नागरिक, महिलाहरू तथा झोला वा जाकेटको बाहिरी खल्तीमा नगद वा मोबाइल राख्ने यात्रु बढी जोखिममा पर्ने गरेको प्रहरीको भनाइ छ ।
यस्ता घटनाबाट जोगिन यात्राका क्रममा झोला शरीरको अगाडितिर राख्ने, धेरै नगद प्रदर्शन नगर्ने, भीडभाडमा खल्ती र मोबाइलमा विशेष ध्यान दिने तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने काम गर्न प्रहरीले आग्रह गरेको छ ।
हेर्नुहोस्, भिडियो :