१७ असार २०८३, बुधबार

एमाले सुदूरपश्चिममा लफडा : भीम रावल र लेखराज भट्टको नाममा यसरी भिडे कार्यकर्ता !

फागुन २६, २०७७
एमाले सुदूरपश्चिममा लफडा : भीम रावल र लेखराज भट्टको नाममा यसरी भिडे कार्यकर्ता !

सुदूरपश्चिम प्रदेशमा एमाले इञ्चार्जको विषयलाई लिएर बुधवार दुई पक्षबीच झडप भएको छ ।

बुधवार प्रदेश पार्टी कार्यालय धनगढीमा एमालेको बोर्डसँगै प्रदेश इञ्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि भीम रावल निकट (नेपाल समूहका) कार्यकर्ताले ‘नेम प्लेट’ नै तोडफोड गरेका छन् ।

नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज भीम रावल रहेको भन्दै उनीहरूले भट्टको नेम प्लेट हटाए ।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजी भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुटको अवस्था सिर्जना भयो ।

बुधवार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । कार्यकर्ताहरूले मिलेरै ब्यानर राखे पनि । 

प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्षबाहिर भानुभक्त जोशी र इञ्चार्जमा भीम रावलको नेम प्लेट राखिएको थियो ।

नेता कर्ण थापाको निर्देशनमा दुवै जनाको नेम प्लेट निकालियो । ती दुई स्थानमा अध्यक्षमा कर्ण थापा र इञ्चार्जमा लेखराज भट्टको नाम राखियो ।

सोही विवादमा झडपको स्थिति उत्पन्न भएको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज को हो भन्ने विवाद यतिबेला निकै बढेको छ । प्रदेश अध्यक्ष कर्ण थापाले नेकपा एमालेको इञ्चार्ज लेखराज भट्ट भएको दाबी गरे । 

‘एमाले पूर्ववत् अवस्थामै फर्किए पनि सबै व्यक्तिलाई एमालेका रूपमा स्वीकार गर्न सकिने अवस्था छैन,’ थापाले भने, ‘प्रचण्डको नेतृत्वमा पार्टीलाई ध्वस्त गर्न लागिपरेका व्यक्तिलाई हामी एमालेमा स्वीकार गर्न सक्दैनौं । नेकपा एमालेको इञ्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ ।’

नेपाल समूहले भने प्रदेशको इञ्चार्ज भीम रावल नै रहेको दाबी गरेको छ । 

‘सर्वोच्चले पूर्ववत् अवस्थामै फर्किन भनेको हो,’ सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घ सोडारीले भने, ‘तत्कालीन अवस्थामा एमालेको प्रदेश संयोजक भीम रावल र सह–संयोजक कर्ण थापा हुनुहुन्थ्यो, अहिले पार्टी पुरानै अवस्थामा फर्किएको हो ।’

माओवादी केन्द्रका नेता नेपबहादुर चौधरीले भने ढिलो चाँडो लेखराज भट्ट पुरानै अवस्थामा फर्किने बताए । 

‘सर्वोच्चले पार्टीलाई पुरानै अवस्थामा फर्काएको छ, उहाँ नेकपा माओवादी केन्द्रमै आउनुपर्छ । यदि उहाँ आउनुभएन भने उहाँको सांसद पद स्वतः रद्द हुन्छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्