काठमाडौं, ९ जेठ— सरकारले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो ।

बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो ।
बैठकले साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।
जसअनुसार झापामा २, सिरहामा १, रौतहटमा ११, धनुषामा १, बारामा १, रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको कार्यदलले संख्या थप र स्तरोन्नतिको प्रस्ताव तयार गरेको थियो ।
सरकारको यो निर्णयसँगै जेठ ३१ गते हुने स्थानीय तह चुनावमा मधेसी मोर्चाले सहमति जनाउने विश्वास लिइएको छ ।
आजको बैठकले म्यादी प्रहरीको समयअवधि दोस्रो चरणको निर्वाचन सम्मका लागि थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता राम कार्कीले बताए ।