यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको
कोषले जनाएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । यसवर्षको शिवरात्रि बिहिबार परेको छ ।