०९ असार २०८३, मंगलबार

विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

असार ८, २०८३
नवलपुर
विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको १९औँ गाउँसभाले दुवै वडाका बासिन्दाले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । अब गाउँसभाबाट पारित निर्णय आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाइने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

वडा नम्बर ६ र ७ का बासिन्दाले वर्षौँदेखि भौगोलिक विकटता तथा यातायात पहुँचको समस्याका कारण आफ्नै गाउँपालिकाको केन्द्र दुम्कीवास पुग्न कठिनाइ भोग्दै आएका छन् । त्रिवेणी–दुम्कीवास सडकखण्डको करिब आठ किलोमिटर सडक निर्माण हुन नसक्दा उनीहरूलाई आफ्नै पालिकाको सेवा लिन दाउन्ने हुँदै करिब ६० किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्याका कारण प्रदेश परिवर्तनको माग उठेको बताए । “त्रिवेणी–दुम्कीवास सडक निर्माणका लागि पटक–पटक पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन”, अध्यक्ष गिरीले भने, “जनताले सहज सेवा र पहुँच खोजेका हुन् । सडक निर्माणमा भएको ढिलाइले उनीहरूलाई वैकल्पिक उपाय खोज्न बाध्य बनाएको छ ।”

उनले प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष सडक निर्माणको विषय पटक–पटक उठाइएको भए पनि अपेक्षित प्रगति हुन नसकेको बताए । “यो विषय केवल दुई वडाको मात्र होइन, गण्डकी प्रदेशको दक्षिणी प्रवेशद्वारसँग जोडिएको रणनीतिक महत्वको विषय हो”, उनले भने ।

वडा नम्बर ७ का अध्यक्ष उमेश कार्कीले स्थानीयवासीको मागका आधारमा गाउँसभामा प्रस्ताव लगिएको बताए । “हामीले जनभावनाअनुसार प्रस्ताव गाउँसभामा प्रस्तुत गरेका हौँ”, उनले भने, “सडक सञ्चालन हुन सकेको भए प्रदेश परिवर्तनको कुरा नै उठ्ने थिएन । अहिले नागरिकलाई सेवा लिन सहज हुने विकल्प रोज्नुपर्ने अवस्था आएको छ ।”

स्थानीय तह पुनःसंरचनापछि साविक त्रिवेणी–सुस्ता गाविसको केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा र त्रिवेणीधाम आसपासका क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा परेका थिए । तर प्रशासनिक रूपमा विनयी त्रिवेणीमा रहे पनि वडा नम्बर ६ र ७ का बासिन्दाले आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।

गण्डकी प्रदेशको दक्षिणी नाकाका रूपमा परिचित त्रिवेणी क्षेत्र भारतसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा धार्मिक केन्द्र मानिन्छ । त्रिवेणी–दुम्कीवास सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेको छ । तर सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले निर्माण प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ ।

स्थानीयवासीले सडक निर्माण गरी आवागमन सहज नबनाइए प्रदेश परिवर्तनको मागलाई थप सशक्त बनाउने चेतावनी दिँदै आएका छन् । गाउँसभाबाट पारित पछिल्लो निर्णयले उक्त विषयलाई औपचारिक रूपमा प्रदेश र सङ्घीय सरकारसमक्ष पुर्‍याउने बाटो खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्