३० जेठ २०८३, शनिबार

काठमाडौंका वासिन्दाले अब दैनिकरूपमा धारामा पानी पाउने

फागुन २७, २०७७
काठमाडौंका वासिन्दाले अब दैनिकरूपमा धारामा पानी पाउने

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकाबासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो हप्ताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । 

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै २–३ महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

केन्द्रको परीक्षण सकिएपछि नयाँ र पुरानो दुवै पोखरीमा पानी पठाइने छ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पुरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उनले भने, ‘पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।’

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका ९ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण शुरू हुन्छ । उनले भने, ‘परीक्षण सबै गरिसक्न २–३ महिना लाग्छ ।’

काठमाडौं उपत्यकामा २ हप्तापछि पानी आउँदा एकैपटक क्षमता अनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ ।

काठमाडौंमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उनले बताए । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल शुरू गरिने उनले बताए ।

‘जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइने छ,’ उनले भने, ‘दैनिक पानी पठाइने छ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्ने छ ।’

पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार दैनिक १/२ घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ ।

लिमिटेड अन्तर्गतका सबै शाखा कार्यालयको आ–आफ्नो फेसबूक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उनले बताए । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिने छ । 

समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उनले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । उनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौं, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’ 

मेलम्चीको पानी काठमाडौं आइसकेको र त्यसको वितरणका लागि संरचनाको निर्माण भइसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । अबको केही हप्ताभित्रै उपत्यकाबासीले नियमितरूपमा पानी पाउने उनको भनाइ छ ।

मेलम्चीको पानी वितरणकै लागि उपत्यकाका विभिन्न स्थानमा गरी ९ केन्द्रबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले परीक्षणको काम भइरहेको उनले बताए । उनले भने, ‘धारामा धमिलो जाँदैन प्रशोधन गरेर सफा पानी जान्छ ।’ – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्