
जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीवार बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरूको मागबारे छलफल गर्ने निर्णय गरेको जसपा अध्यक्ष महन्थ ठाकुरले लोकान्तरलाई जानकारी दिए ।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी थिए ।
यी पाँचै नेताले प्रधानमन्त्री ओलीलाई भेट्न लागेका हुन् ।
'आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने र रेशम चौधरीको रिहाइलगायतका विषयमा छलफल गर्ने निर्णय भएको छ,' अध्यक्ष ठाकुरले लोकान्तरसँग भने ।
आफूहरूका लागि एमाले र कांग्रेस-माओवादी दुवै बराबर भएको उनको भनाइ छ ।
'हाम्रा लागि सबै बराबर हुन् । कुन कम्फर्टेबल भन्ने छैन, सबै अनकम्फर्टेबल नै हुन्,' ठाकुरले भने ।
बैठकले पार्टी संसदीय दलको विधान भोलि पारित गर्ने र सकेसम्म सर्वसम्मतिमै दलको नेता चयन गर्ने निर्णय पनि गरेको छ ।
सत्ता समीकरणमा निर्णायक हुने भएपछि चौथो दल जसपा एकाएक चर्चामा छ ।