२३ जेठ २०८३, शनिबार

विप्लवका नेता, कार्यकर्ता अझै कारागारमै

फागुन २७, २०७७
विप्लवका नेता, कार्यकर्ता अझै कारागारमै

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच ३ बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि नेकपाका नेता–कार्यकर्ता छुटेका छैनन् ।

चन्द समूहका नेता/कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारागारका प्रमुख धनबहादुर घर्तीले बताए ।

कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा ५ जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही विक्रम संवत् २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मंसिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत बझाङले ३ जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी ५ मुद्दा लगाएको थियो भने थापालाई थप २ बहुविवाह तथा चोरी मुद्दासमेत लगाएको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए । 

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा विप्लव नेकपाका ५ नेता कार्यकर्ता रहेका र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यालयमा नभएकाले केही समय लाग्नसक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्