
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग१ज ५७०५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा १ यात्रुको ज्यान गएको छ भने ५ गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए ।
घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।
गम्भीर घाइतेमध्ये ३ जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी २ जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित ७ जना सवार रहेका पिकअप जीप बिहीवार अपराह्न वडा नम्बर १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा १ जना सकुशल रहेको जनाइएको छ । ट्रयाक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीय घाइतेको उद्धारमा खटिएका थिए ।