३० जेठ २०८३, शनिबार
एमाले ब्युँतिएपछि

एमालेको कुनै एक टीमले मात्र प्रचण्डसँग सहकार्य गर्न सम्भव छैन– भीम आचार्य [अन्तर्वार्ता]

फागुन २८, २०७७
एमालेको कुनै एक टीमले मात्र प्रचण्डसँग सहकार्य गर्न सम्भव छैन– भीम आचार्य [अन्तर्वार्ता]

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि नेकपाको एकता खण्डित भएको छ । पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको झलनाथ खनाल र माधवकुमार नेपाल समूह अदालतको निर्णयपछि स्वत: एमाले भएको छ ।

पार्टी एकताअघि नै एमालेमा दुईवटा समूहले गुटगत अभ्यास गर्दै आएका थिए । एकतापछि बनेको नेकपामा प्रचण्ड-नेपाल समूहले ओलीविरुद्ध मोर्चाबन्दी गर्‍यो । ओलीलाई कारवाही गरेर पार्टीबाट नै निष्कासन गरेको नेपाल समूहले एमालेमै रहेर कसरी राजनीति गर्ला भन्ने प्रश्न उठेको छ ।

एमालेको खनाल-नेपाल समूह छलफलमा जुटेको छ । बिहीवार मात्रै पनि बानेश्वरस्थित एक होटलमा स्थायी कमिटी सदस्यहरू भेला भएर आगामी रणनीतिका बारेमा छलफल गरेका थिए । छलफलमा सहभागी स्थायी कमिटी सदस्य भीम आचार्यलाई राजनीतिक हिसाबले त एमाले दुईवटा जस्तो देखियो नि ? भनेर लोकान्तरकर्मी ईश्वर अर्यालले सोधेका थिए ।

लोकान्तरसँगको कुराकानीमा आचार्यले अहिलेसम्म एमाले दुईवटा नभएको तर नेतृत्वले बुद्धि नपुर्‍याए त्यो दिन पनि आउन सक्ने जोखिम औंल्याएका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश -

एमालेमै आएपछि समूहगत या गुटगत भेला गरिरहनुभएको छ, यसले एमालेको एकतालाई खण्डित गर्दैन ?

जिल्ला–जिल्लामा गुण्डागर्दी गर्ने, कार्यालय क्याप्चर गर्न खोज्ने, नेताहरूको अपमान गर्ने, अनि जनसंगठनका अवैध खालका कमिटीहरू बनाउँदै हिँड्ने, पार्टीमा सल्लाह छलफल नगर्ने, बैठक बोलाउन नखोज्ने जस्ता कामहरू अर्को पक्षबाट भएको छ ।

एउटाले बालुवाटारमा गुटबन्दी गर्दै हिँड्ने र बालुवाटारलाई गुटको अखडा बनाएको अवस्था छ । अर्कोतिर पनि गुटबन्दीको प्रतिगुटबन्दी हुन्छ । अदालतको निर्णयपछाडि त २०७५ जेठ २ गतेको अवस्थामा पार्टी पुग्यो । तर त्यसलाई नमान्ने र जबरजस्ती गर्ने प्रवृत्ति हाबी भएको छ । हामीले त्यसविरुद्ध कसरी संघर्ष गर्ने भनेर छलफल गरेका हौँ ।

ओलीविरुद्ध संघर्ष गर्ने भनेर नै पार्टीमा जानुभएको थियो तपाईंहरू, अब कसरी संघर्ष गर्ने रणनीति बनाउनुभएको छ ?

मैले अघि नै भनें, पार्टीको एउटा पक्षले गुण्डागर्दी गरिरहेको छ । हामीले त्यसलाई कसरी निस्तेज गर्ने हो भन्नेबारेमा छलफल गरिरहेका छौं । आज पनि बस्यौं । अब पनि थप छलफल गर्छौं ।

तपाईंहरू कानूनी हिसाबले नेकपा एमाले नै भएपनि राजनीतिक हिसाबले दुईवटा एमाले छ भन्न मिल्छ ?

अहिले दुईवटा एमाले भइहालेको छैन । नेतृत्वले बुद्धि पुर्‍याउने हो भने अहिलेसम्म देखिएका तिक्तता हट्छन् । मिलेर अघि जान सकिने सम्भावना अझै छ । तर एउटा पक्षले अर्को पक्षलाई सिध्याउँछु नै भनेर अघि बढ्छ भने त्यसको परिणाम राम्रो हुन्छ जस्तो मलाई लाग्दैन ।

२०७५ सालको जेठ २ गते अगाडि पनि तपाईंहरू दुईवटा फरक-फरक समूहगत अभ्यासमा हुनुहुन्थ्यो । यसबीचमा त झन् तपाईंहरूले ओलीलाई कारवाही गरेर पार्टीबाट निकाल्ने राजनीतिक निर्णय पनि गरिसक्नुभयो । यो अवस्थामा एक भएर जान सकिने कुरा अलि अमिल्दो भएन ?

हाम्रो दुईवटा टीम थियो । दुईवटा टीमबाट हामी महाधिवेशनमा प्रतिस्पर्धा गरेका थियौं । हामीले त प्यानल नै दुईवटा बनाएर लडेका थियौं । तर कार्यकर्ताले मिक्स गरिदिए । कार्यकर्ताको भावना एमाले एक होस् भन्ने थियो ।

अब पछिल्लो समयमा हामी प्रतिगमनविरुद्ध लड्यौं । जित्यौं पनि । अदालतको निर्णयअनुसार फेरि पुरानै ठाउँमा आयौं सबै । केपी ओली पनि आउनुभयो, हामी पनि आयौं ।

त्यसपछि अब मिलेर मिलाएर जानुपर्छ भन्ने चेत सबैमा हुनुपर्‍यो नि ।

केपी ओली र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच कुराकानी भेटघाट भएको छ कि छैन ?

अदालतको फैसलापछि हामी एउटै पार्टी त भयौं तर छलफल, भेटघाट र कुनै किसिमको कुराकानी भएको छैन ।

बैठक पनि क्यान्सिल भएको अवस्था छ तपाईंहरूको । नेताहरूबीच कुराकानी हुन सकेको छैन । यसरी त एमाले झन् कमजोर बन्दै जाने भयो नि !

बोलाएको बैठक क्यान्सिल गरियो । छिट्टै बैठक बोलाइहाल्ने परिस्थिति अब बन्छ भन्ने मलाई लाग्दैन । यही बीचमा तल-तल एकलौटी ढंगले कमिटी बनाउँदै हिँडिरहेका छन् । कार्यालय कब्जा गरिएको छ । निकृष्ट कामहरू भइरहेका छन् । ती कुराहरू रोकेर एउटा अनुकूल र सौहार्दपूर्ण वातावरण पार्टीमा बनाउने हो भने सबै मिल्छ । हिजोमा तिक्तताहरू बिर्सेर एक ठाउँमा जान सकिन्छ ।

यही गर्ने हो भने गुटबन्दीको प्रतिकार गर्दै प्रतिगुटबन्दी हुन्छ । त्यसले राम्रो स्थिति ल्याउँछ भन्ने लाग्दैन ।

अब प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव के हुन्छ ? तपाईंहरूले एउटा मानसिकता त बनाउनुभएको होला नि ?

प्रदेशका लागि हामी अब सल्लाह गर्छौं ।

भनेपछि अहिलेसम्म प्रदेशको राजनीतिका बारेमा तपाईंहरू अनिर्णित हुनुहुन्छ त्यसो भए ?

अहिले प्रदेशमा हामी पुगिसकेका छैनौं । अहिले सिंगो पार्टीका बारेमा हाम्रो छलफल केन्द्रित छ ।

तपाईंहरू एमालेमै बसेर माओवादी केन्द्रसँग सहकार्य गर्ने मूडमा देखिनुहुन्छ । त्यस्तो सहकार्य त अप्राकृतिक र अराजनीतिक होला नि ?

हामी एक्लै कुनै टीमका रूपमा प्रचण्डसँग सहकार्य गर्ने होइन । सिंगो वामपन्थीहरूले एकआपसमा सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ ।

वामपन्थीहरू बीच नै छलफल गरेर सरकारलाई वामपन्थी नेतृत्वमै सरकार बनाएर जाँदा राम्रो हुन्छ भनेका छौं हामीहरूले ।

त्यसपछि आगामी दिनमा पनि एमाले र माओवादी सहमतिमै अघि बढ्दा राम्रो हुने मैले देखेको छु । अनि वामपन्थी एकता आफ्नो स्वार्थसिद्धिका लागि प्रयोग हुनुपनि भएन । कसैले गर्नुभएन ।

हाम्रो पहिल्यैदेखिको त्यही दृष्टिकोण छँदैछ । त्यही कारण पार्टी एकता भएको हो । छुट्टै टीमको रूपमा प्रचण्डसँग सहकार्य गरेर जाने स्थिति त हुँदैन अहिले ।

नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको अवस्था छ नि ?

प्रतिपक्षी दलहरूले खोज्ने त भइहाले नि !

होइन एमाले या माओवादी केन्द्रबाट कुनै नयाँ प्रधानमन्त्री बनाउनुपर्छ र वाम गठबन्धन कायमै राख्नुपर्छ भन्ने ढंगले तपाईंहरूले छलफल गरिरहेको साँचो होइन ?

सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा त माओवादी केन्द्रको कुरा भइहाल्यो ।

अहिले हाम्रो कुराचाहिँ वाम सरकारले नै निरन्तरता पाओस् भन्ने हो । त्यसपछि पार्टी राम्रो खालको स्थितिबाट अघि बढोस् भन्ने हो ।

कुन व्यक्तिमा सहमत हुन सकिन्छ भन्ने कुरा त बैठकमा उठ्छ । अहिल्यै प्रधानमन्त्री खोजेर हिँडेका छैनौं हामीले ।

salt training

कमेन्ट गर्नुहोस्