०८ साउन २०८३, शुक्रबार

चीनले निवारण गर्‍यो गरीबी, भारत किन पर्‍यो पछि ?

फागुन २८, २०७७
चीनले निवारण गर्‍यो गरीबी, भारत किन पर्‍यो पछि ?

भारतीयहरू ३० वर्ष अगाडिको भन्दा सहज स्थितिमा छन् । औसत आयु बढेको छ, स्वास्थ्य सेवामा सुधार आएको छ र पहिलेको भन्दा बढी संरचना बनिरहेको छ । तर अझै पनि धेरै कुरा गर्न बाँकी छन् । 

सन् २०२० को अन्त्यमा देश कोभिड–१९ सँग संघर्ष गरिरहेको बेलामा दुःखद खबर आयो । सन् २०२० को विश्वव्यापी भोक सूचकांकमा भारत १०७ देशमध्ये ९४औं स्थानमा थियो । उसभन्दा १३ मुलुक मात्र खराब अवस्थामा थिए । 

भारतको स्वास्थ्य तथा भौतिक इन्डिकेटरहरू चिन्ताजनक छन् । भारतको जनसंख्याको लगभग १६ प्रतिशत कुपोषित छ र राति भोकै सुत्ने गरेको छ । पाँच वर्षभन्दा मुनिका एक तिहाइ बालबालिकाको शारीरिक विकास हुन सकेको छैन । संसारका कुपोषित बालबालिकामध्ये एकतिहाइभन्दा बढी भारतमै छन् र तीमध्ये आधाको तौल कम छ । 

भारत संसारको दोस्रो सबभन्दा ठूलो खाद्य उत्पादक हो तर ऊ म्यान्मार, नामिबिया, सेनेगल, ग्वाटेमाला र इराकभन्दा भोको छ । सन् १९९५ देखि अहिलेसम्म लगभग तीन लाख भारतीय किसानहरूले आत्महत्या गरेका छन् ।

प्राथमिकता केमा ?
तर भारतका समाचार टीभी हेर्दा र भारतीय पत्रिकाहरू पढ्दा यस्ता कुरा थाहै हुँदैन । भारतको कर्पोरेट मिडिया कुल गार्हस्थ्य उत्पादनमा वृद्धि तथा स्टक मार्केट सूचकांकका बारेमा चिन्ता व्यक्त गर्छ । गरीबी र स्वास्थ्यको सूचकांकमा उसलाई चासो छैन । 

भारतलाई फ्रीडम हाउसले आंशिक स्वतन्त्र भनी बताउँदा भारतीय मिडियाले त्यसैका बारेमा धेरै दिन कुरा गरे । प्रायः एउटै किसिमको दृश्य दोहोरिन्छ ः करोडपति एंकरहरू उदास अनुहार लगाउँछन्, सम्भ्रान्त विज्ञहरू

भारतमा भिन्न विचारका लागि स्थान घटिरहेको भनी बिलौना गर्छन् । आइभी लीगबाट आएका विज्ञहरूसँग बहस हुन्छ, सरकारको आलोचना गरिन्छ अनि सबैजना घर जान्छन् । अर्को दिन मिडियाको चासो घट्छ र अर्को स्टोरीका पछाडि सबै दौडन्छन् । 

भारतले विश्वव्यापी भोक सूचकांकमा कमजोर स्थान हासिल गरेको विषयमा चर्चा नगर्नेले फ्रीडम हाउस रिपोर्टमा भारतको स्थानका विषयमा चर्केर गुनासो गरे । भारतमा असहिष्णुता बढिरहेको भनी चिन्ता व्यक्त गर्ने सम्भ्रान्त टिप्पणीकारहरू कुपोषणको लहरका बारेमा चुँक्क बोल्दैनन् । धेरैजसो भारतीय विज्ञ र नीतिनिर्माताहरू पूरै पश्चिमी सोच राख्छन् । उनीहरूलाई गरीबी र भोकभन्दा बढी स्वतन्त्रता र लोकतन्त्रको चिन्ता छ । 

भारत र चीनमा यही महत्त्वपूर्ण भिन्नता छ । चीन सरकार सार्वजनिक सेवा उपलब्ध गराएर आफू वैध बनिने विश्वास गर्छ । भारत सरकार चुनाव जितेर वैध बनिने विश्वास गर्छ । भारतीय पत्रकार तथा लेखक पल्लवी अय्यर भारतमा प्रक्रियामार्फत वैधता खोजिने अनि चीनमा सेवाप्रवाहमार्फत वैधता खोजिने गरेको बताउँछिन् । 

भारतीय जनताको जीवन तथा भौतिक अवस्थामा उल्लेख्य सुधारको अभावमा भारतले गर्ने सबै प्रतिज्ञा खोक्रो साबित हुन्छ र उसका प्रगतिहरू भ्रम मात्र ठहर्छन् । घमण्डी भारतीय टिप्पणीकारहरूले स्वतन्त्रताका विषयमा गरेको टिप्पणीले भारतीय जनतालाई भौतिक लाभ हुने भए तिनलाई सुन्न सार्थक ठहर्थ्यो । खुला अभिव्यक्तिले पेट भर्ने हैन । 

तैपनि आशा गर्ने ठाउँ छ । भारत विगत दुई हजार वर्षमा संसारको विशालतम अर्थतन्त्रमध्ये एक थियो । र ऊ फेरि त्यही अवस्थामा नपुग्ने भन्ने कुनै कारण छैन । भारतका नीतिनिर्माताहरूले सही कदम चालिरहेका छन् तर त्यो कछुवाको गतिमा छ । 

धेरै भारतीयहरूका लागि भारतका संरचनागत अग्रता र नीतिले परिणाम दिनुअघि अहिलेको भयावह स्थितिमा लामै समय बस्नुपर्ने हुन सक्छ । त्यस अवधिमा दयामाया नभएका विज्ञहरू भारतीय लोकतन्त्र र स्वतन्त्रताको गौरवगाथा गाएर बस्नेछन् जबकि भारतीयहरूले पर्याप्त मात्रामा स्वतन्त्रता पाएका छन् । स्वतन्त्रता पाए जति खाना पनि पाए हुन्थ्यो नि । 
 

सीजीटीएन डट्कममा प्रकाशित मैत्रेय भकालको आलेखको अनुवाद लोकान्तरका लागि विन्देश दहालले गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्