
विधानमै सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा)ले शुक्रवार संसदीय दलको नेता चयन गर्ने प्रयास असफल भएको छ ।
विधान पारित गर्न र दलको नेता चयन गर्न भन्दै शुक्रवार संसदीय दलको बैठक बसेको थियो ।
सहमतिको प्रयास स्वरुप विधानमा सहमति कायम गर्न अनिल झा र रामसहाय प्रसाद यादव सदस्य रहेको कार्यदल गठन गरिएको जसपा सांसद उमाशंकर अर्घरियाले लोकान्तरलाई जानकारी दिए । विधान पारित भएपछि मात्र दलको नेता चयन हुने उनले जानकारी दिए ।
दलको नेताका लागि अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिरहेका छन् । संसदीय दलको बैठकमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्ताबारे अध्यक्ष ठाकुरले ब्रिफिङ गरेका थिए ।
अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु नेपाली कांग्रेससँग छलफलका लागि जाने भएपछि आजको बैठक सकिएको हो । शुक्रवार नै अर्थमन्त्री विष्णु पौडेल सहितको नेकपा कार्यदलसँग लक्ष्मणलाल कर्ण सहितको जसपा कार्यदलको बैठक बस्दैछ ।
सहमतिको खाका तयार गर्न बैठक बस्न लागेको नेता कर्णले लोकान्तरलाई जानकारी दिए ।