महेन्द्रनगर, ९ जेठ– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले ठूला दलहरु भारत र चीनबाट सञ्चालित रहेको आरोप लगाएका छन् ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारका लागि कञ्चनपुरको महेन्द्रनगर पुगेका भट्टराईले मंगलबार विहान महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
संयोजक भट्टराईले समकालिन समस्याको समाधान नगरिए देश संकटमा फस्ने समेत बताए । आन्तरीक र बाह्य शक्तिका कारण निम्तिएको राजनीतिक तथा समाजिक समस्या समाधानका लागि दिगो व्यवस्थापन गर्नुपर्ने भट्टराईको भनाइ थियो ।
मुलुक जटिल अबस्थातर्फ गइरहेकाले समकालिन समस्याहरुको समाधानमा बिशेष ध्यान दिएर सबै दल र नागरीक समाजसँगको छलफलबाट दीगो समाधान खोज्नु पर्ने समेत उनले बताए ।
पूराना राजनीतिक शक्तिहरु सत्ताको भागबण्डामा केन्द्रित रहेको र उनीहरुलाई दायित्वबोध नहुँदा मुलुकको उचित र दीगो विकास हुन नसकेको भट्टराईको भनाइ थियो ।
स्वाधिनता र सार्वभौम सत्ताका बिषयमा कुनै पनि राष्ट्रसंगको सम्झौता कसैलाई स्वीकार्य नहुने भएकाले राष्ट्रियताका सवालमा कुनै सम्झौता गर्न नहुने उनले जिकिर गरे ।
मुलुक संघीयतामा गइसकेको अवस्थामा केन्द्र हुँदै प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपनि संघीयताको मर्म विपरित सरकारले सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन गराएको भट्टराईले टिप्पणी गरे ।