
नेकपा एमाले माधवकुमार नेपाल समूहले सातै प्रदेश र विभागमा इन्चार्ज तोकेको छ ।
काठमाडौंमा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।
बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको हो ।
बैठकले विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाललाई इन्चार्ज तोकेको जनाइएको छ ।
यसअघि अध्यक्ष ओली समूहले १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बरमा सत्यनाराण मण्डल र बागमतीमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको थियो ।
शुक्रवार एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । त्यसको विरोधमा शनिवार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको हो ।
बैठकमा बोल्दै नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले निराश नहुन आग्रह गरेका छन् । ‘अहिले अवस्था देखेर साथीहरूमा निराशा होला, केही होला केही नमान्नु, हिम्मतका साथबाट अगाडि बढनुपर्छ,’ बैठकमा उनले भने, ‘जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।’
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारीलाई पदमुक्त गरेपछि आयोजित बैठकमा नेपालले भने, ‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढ्नुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढ्नुपर्छ । गलत प्रवृत्तिविरुद्ध हामी एकजुट हुने बेला हो, हामी विचलित भएर हिँड्ने होइन ।’
अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको बेला कसरी सामना गर्ने भन्ने मुख्य विषय रहेको उनले बताए । ‘२ ठूला पार्टीबीच एकता भएर अगाडि बढेको थियो । हामी विश्लेषण गर्दै गरौंला,’ उनले भने, ‘हामीले कसरी सामना गरेर अगाडि बढ्ने भन्ने नै अहिलेको मुख्य विषय हो ।’