
वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उड्नुका साथै उनकै कारणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको ठहर गरेको छ ।
अभियानका तर्फबाट सचिव बाबुराम थापाले शनिबार जारी गरेको विज्ञप्तिमा एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपिल गरिएको छ ।
विज्ञप्तिमा शुक्रबार ओलीले आफू निकटको भेला गरी केन्द्रीय समिति बैठकको नाम दिँदै महाधिवेशनबाट निर्वाचन पदाधिकारी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने कार्यको विरोध समेत गरिएको छ ।
