
एसियाका सर्वाधिक धनाढ्य व्यापारी मुकेश अम्बानीको घर एन्टिलिया अगाडि एक गाडीमा बम राखिएको विषयमा एक प्रहरी अधिकृत नै पक्राउ परेपछि महाराष्ट्रको राजनीति तातिएको छ ।
भारतको नेसनल इन्भेस्टिगेटिभ एजेन्सीले सचिन वजे नामक प्रहरी अधिकृतलाई शनिवार पक्राउ गरेको थियो । वजेले यस घटनामा शिवसेना पार्टी जिम्मेवार रहेको आरोप लगाएका छन् ।
आफू ठूलो षड्यन्त्रको हिस्सा भएको र त्यसमा शिवसेनाका मानिसहरू संलग्न रहेको उनले बताएको भनी भारतीय सञ्चारमाध्यमले खबर दिएका छन् ।
शिवसेना अहिले महाराष्ट्रको सत्तामा छ भने संघीय तहमा यो विपक्षी दल हो ।
संघीय अनुसन्धान संस्था एनआईएका स्रोतहरूले एबीपी न्युजलाई बताएअनुसार, शिवसेना नेताहरूले अम्बानीको घरबाहिर फेब्रुअरी २५ मा एक एसयूभी गाडीमा जिलेटिन स्टिक राख्न प्रमुख भूमिका निर्वाह गरेको भनी वजेले बताएको खबर दियो ।
‘म सामान्य प्यादा मात्र हुँ,’ वजेले बताएको भनी अनुसन्धानकर्मीहरूलाई उद्धृत गरिएको छ ।
वजेलाई एनआईएले शनिवार साँझ पक्राउ गरेको थियो । त्यसअघि १३ घन्टासम्म उनलाई केरकार गरिएको थियो ।
अम्बानीको घरमा बम राखिएको गाडीका मालिक एक स्थानीय व्यापारी रहस्यमय तरिकाले मारिएपछि वजेको नाम जोडिएको थियो । ती व्यापारी बम भेटिएको एक हप्तापछि मारिएका थिए ।
ती व्यापारी मनसुख हिरनकी पत्नीले उक्त एसयूभी वजेलाई आफ्ना पतिलाई गत नोभेम्बरमा दिएको र वजेले पतिलाई फेब्रुअरीको पहिलो हप्तामा मात्र फर्काएको अनुसन्धान संस्थालाई बताइन् ।
हिरनकी पत्नीको आरोपपछि मुम्बई प्रहरीबाट यो केस संघीय अनुसन्धान संस्था एनआईएतिर सारिएको थियो ।