
घर झमेला आर्थिक अवस्था कमजोर भएका घरमा मात्रै होइन, धन–दौलत धैरै भएका घरमा समेत हुने गरेको एक उदाहरण हालै भारतको उत्तर प्रदेशस्थित मोहनलालगञ्जमा देखिएको छ ।
भारतीय जनता पार्टी (भाजपा) सांसद कौशल किशोरकी बुहारी अंकितले उनको घरबाहिर आएर हातको नसो काटिन् । उनले बनाएको भिडियोमा भनेकी छन्, ‘म जाँदैछु, तिमी खुशी रहनू ।’
घटनालगत्तै उनलाई अस्पताल पुर्याइएको छ भने उपचार भइरहेको छ । उनले भिडियोमार्फत पति आयुषमाथि गम्भीर आरोप लगाएकी छन् । स्थानीय पुलिसले घटनाको अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अंकितले आत्महत्या गर्ने भन्दै जारी गरेको भिडियोमा भनेकी छन्, ‘म कसैसँग लड्न सक्दिनँ । किनकि तिम्रो बुवा सांसद र आमा विधायक छन्, मेरो कुरा कसैले सुन्दैन । तिमी कति झूट बोलिरहेका छौ, तिमी र तिम्रो परिवारले मलाई जिउनका लागि छाडेनन् ।’
उनले अगाडि भनेकी छन्, ‘घरभाडा दिएनन्, ग्यास सिलिन्डर भरेनन्, एकपल्ट पनि सोचेनन् कि म के खाउँला ? यदि तिमी मसँग आउँदैनौ भने मलाई जिउनु पनि छैन, म जाँदैछु, तिमी मलाई याद गर्नेछौ । तिमीलाई मैलेभन्दा बढी माया गर्ने कोही भेटिने छैन । मैले मर्नुपर्ने कारण तिमी हो र तिम्रा घरपरिवार हुन्, म जाँदैछु, तिमी खुशी रहनू ।’
सांसदको घरभित्रको घर झगडालाई अंकिताले छताछुल्ल पारिदिएकी छन् ।