
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झण्डै साढे ३ महिनापछि भेटवार्ता हुने भएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपाल समूहबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि चैत्र ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले नेपालसँग छलफल गर्न लागेका हुन् ।
वार्ताको लागि ओलीले आग्रह गरेपछि नेपाल सहितका नेताहरू धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुग्दैछन् । ‘अध्यक्षज्यूले भेट्न बालुवाटार बोलाउनुभएको थियो, नेता नेपालले बालुवाटार नआउने भनेपछि धुम्बाराहीमा भेट्ने कार्यक्रम तय भएको छ,’ नेपाल निकट एक नेताले लोकान्तरसँग भने ।
प्रतिनिधिसभा विघटन भएपछि दुवै नेताले एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै हिँडेका थिए । गत शुक्रवार अध्यक्ष ओलीले एकतर्फी रूपमा जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूह आक्रोशित बनेको थियो ।
नेता नेपाल पक्षका नेताहरूले आइतवार संयुक्त वक्तव्य प्रकाशित गरेर ओलीले एकपक्षीय रूपमा गरेका निर्णय नमान्ने बताएका थिए । उनीहरूले ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै निर्वाचन आयोगमा पत्राचार गरेका थिए ।
एकअर्काविरुद्ध वक्तव्यबाजी गर्दै हिँडेका नेकपा एमालेका दुवै पक्षबीच सोमवार हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।