३० असार २०८३, मंगलबार

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन, कुरा मिलेन : भीम रावल

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन, कुरा मिलेन : भीम रावल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते भएको निर्णय फिर्ता लिन अस्वीकार गरेपछि सोमवार भएको छलफल निष्कर्षविहीन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच भएको भेटवार्तामा माधव नेपाल पक्षले फागुन २८ गतेको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने अडान राखेको थियो । 

बैठकपछि नेता भीम रावलले छलफल प्रारम्भ भए पनि कुनै निष्कर्षमा नपुगिएको बताए ।

‘कुरा मिलेन, फेरि छलफल गर्ने कुरा भएको छ । अर्को छलफल कहिले हुने भन्ने यकिन भएको छैन,’ रावलले भने । 

माधव नेपाल पक्षले ३ वर्षअघिको स्थितिबाट काम कारवाही अगाडि बढ्नुपर्ने धारणा राखेको थियो । ‘सर्वोच्चले नेकपा एमाले ३ वर्ष अगाडिको स्थितिबाट अगाडि बढ्नु भनेपछि प्रस्थान विन्दुबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो अडान रह्यो,’ रावलले भने, ‘सर्वोच्चले फैसला गरेपछि एमाले पूर्ववत् अवस्थामा गएको कुरालाई स्वीकार नगरे मान्य हुँदैन । पार्टीबाट कुनै निर्णय गर्नुपरेमा केन्द्रीय कमिटीको साझा निर्णय गर्नुपर्छ । २८ गते जुन प्रकारको बैठक भयो भनिएको थियो, त्यसलाई मानिरहने भयो भने त एमाले भएको मानिएन ।’

नेपाल पक्षले २८ गतेको निर्णय रद्द भएमा चैत्र ४ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्ने बताएको छ । 

प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन । सोमवारको भेटवार्तापछि एमाले विवादमा ‘आइसब्रेक’ भएको ठानिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्