
म्यानमार (बर्मा) मा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको विना शर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमवार नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ ।
ललितपुरको भैसेपाटीस्थित म्यानमार दूतावास अगाडि दिउँसो भएको प्रदर्शनमा म्यानमारः सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएका थिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, सदस्यहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीको सहभागिता रहेको थियो ।