
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
सत्ता समीकरणका लागि दलहरूसँगको वार्तालाई निरन्तरता दिनुपर्ने तथा तत्काल अन्य गतिविधिमा केन्द्रित हुनुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित भएको नेता युवराज चौलागाईंले लोकान्तरलाई जानकारी दिए ।
कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय केन्द्रीय कमिटीले यसअघि नै गरिसकेको छ ।
'भोलि संसद् बैठक छ, संसदीय दलको बैठक पनि बस्नुपर्ने छ, अन्य दलहरूसँग वार्ता पनि गर्नुपर्ने छ, सोही कारण दुई/चार दिनका लागि बैठक रोक्ने कुरा भएको छ,' चौलागाईंले भने ।
सोमवारको बैठकमा २० जनाले विचार राखेको उनले बताए ।
पार्टी राष्ट्रिय भेलाको मिति स्थायी कमिटीले तय गर्ने र त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने माओवादीले जनाएको छ ।
सरकारमा सहभागी मन्त्रीहरूलाई के गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय नभएको उनको बताए ।
'स्पष्टीकरण सोधेको पत्र उहाँहरूको हातहातमा पुगिसकेको छ,' चौलागाईंले भने, 'केही दिन कुर्छौं र उताबाट कस्तो जवाफ आउँछ, त्यसपछि निर्णय लिन्छौं ।'