
बाग्मती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो पटक मागअनुसार खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सजिलो भएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला नजिकै समवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) निर्माण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो ।
बोर्डले सामरी खोलामा कूल १ करोड १५ लाख रुपैयाँको लगानीमा समवेल निर्माण गरेको हो । समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरू गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिए ।
नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौंडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक ३ पटक पानी वितरण गर्न शुरू गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जानकारी दिए ।
समवेलबाट हेटौंडा उपमहानगरपालिका–२, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक ३ पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।