
काठमाडौं, ९ जेठ –गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम अझै सार्वजनिक हुन सकेको छैन । पहिलो चरणअन्तर्गत मुलुकका ३४ जिल्लामा सम्पन्न स्थानीय तहको निर्वाचनको रापताप सकिन लाग्दासमेत काठमाडौं महागनरपालिकासहितका अन्य ४ महानगरपालिका र केही स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।
काठमाडौं महानगरपालिकाको मतपरिणामप्रति अधिकांशको चासो छ । तर, यही महानगरपालिकाको मतगणना ५० प्रतिशत भन्दा केही बढी मात्र सम्पन्न भएको छ । तर, निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिनदेखि नै निकै व्यस्त देखिने सभागृह आसपासको क्षेत्र विस्तारै खुकुलो बन्दै गएको छ ।
सोमवारसम्म राष्ट्रिय सभागृहको बाटो सवारी चल्न पनि रोक लगाइएका थियो । तर, मंगलवारदेखि भने उक्त मार्गमा सवारी आवागमन खुला गरिएको छ । यसको अर्थ काठमाडौंमा चुनावी रौनक विस्तारै सेलाउँदै गएको छ ।
उम्मेदवारकै चहलपहल कम
मतपरिणाम आउन लामो समय लागेर पनि होला केही दिनयता सभागृह परिसरमा मेयरका उम्मेदवारको त्यति बाक्लो उपस्थिति देखिँदैन । सुरुका केही दिन विवेकशील पार्टीकी रञ्जु दर्शना, लगायत नयाँ पार्टीका उम्मेदवार दिनभरी मतगणना स्थलमा देखिए पनि हिजोआज अल्लकझुक्कल मात्र झुल्किन्छिन् ।
महानगरको मेयरमा फराकिलो मतान्तरले अघि रहेका नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यबाहेक अन्य उम्मेदवारको उपस्थिति अहिले सभागृहमा खासै देखिदैनन् ।
मतगणना स्थल सभागृहमा नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदवार राजुराज जोशीको उपस्थिति खासै देखिदैन् । साझा पार्टीका उम्मेदवार किशोर थापा र नेकपा माओवादी केन्द्रका सर्वोत्तममान डंगोल पनि सभागृहमा देखिन छाडेका छन् ।
चण्डीमाताको चुरीफुरी
स्वतन्त्र उम्मेदवारमा उठेकी ज्ञानुमाया तामाङ ‘ज्वालादेवी चण्डिमाता’ भने प्रायः सभागृह वरिपरि नै घुमिरहेकी हुन्छिन् । आफ्नो एक भोट पनि नआएकोमा गुनासो गर्छिन् । क्यान्टिनमा जान्छिन्, खाजा खान्छिन् । त्यतै डुल्छिन् । उनले भोट पाउन नसकेपनि आफू पहिले सभासदमा समेत उठेको भन्दै चित्त बुझाउँछिन् ।
निर्वाचन प्रतिनिधि र दलका प्रतिनिधिको खटाई
मतगणना निरन्तर रुपमा भइरहेको छ । कर्मचारी तथा पार्टीका प्रतिनिधी अनवरत खटिएका छन् । खाजा खान क्यान्टिन जान्छन् । खाजा खान्छन् । ‘फ्रेस’ हुन्छन् । पत्रकारसँग आएर सोध्छन् –अहिलेसम्म कति पुगेको छ ?
चुनावमा भोट गनिरहेका कतिपय कर्मचारीलाई कहाँ कसले जित्यो भन्ने समेत थाहा छैन् । भित्र मत गन्दा गन्दा बाहिरी दुनियाँमा के भएको छ भन्ने नै उनीहरुलाई थाहा नहुने बताए । बाहिर निस्केर एक कर्मचारीले भन्दै थिए, ‘भरतपुरमा कस्को कति पुगेको छ ? यहाँ त आफूले गनेको मत मात्र थाहा हुन्छ । त्यो पनि जम्माजम्मी कति पुग्यो भन्ने हेर्नलाई समाचार हेर्नुपर्छ ।’
पत्रकारको लगनशिलता
सञ्चारमाध्यमलाई भने स्थानीय तहको चुनाव मज्जाले लागेको छ । मतगणना अपडेटका लागि मूलधारका अधिकांश सञ्चारमाध्यममा कार्यरत् पत्रकार निर्वाचनको सुरुदेखि नै सभागृहमा खटिरहेका छन् ।
विभिन्न सञ्चारमाध्यमका पत्रकारका लागि अहिले सभागृहस्थल सामुहिक कार्यथलो भएको छ । सबैजसो सञ्चारमाध्यमका पत्रकारले मिलेर तथ्याङ्क निकालेर आ –आफ्नो सञ्चारगृहमा पठाउँछन् । उनिहरू मतगणनाको नयाँ अपडेटबारे चनाखो भइरहेका देखिन्छन् । लामो समय खुला चौरमा बस्दा असहज र सन्चो नभएको अनुभूति केही पत्रकारको मुहारमा झल्किन्छ ।