राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा चेम्बर अफ कमर्सले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताइन् ।
'सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा चेम्बर सहयोगी बनेको छ,' उनले भनिन्, 'औद्योगिक उत्पादन बढाएर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन चेम्बरले विशेष जोड दिनुपर्छ ।'
राष्ट्रपति भण्डारीले विदेशमा व्यापार बढाउन चेम्बरले विभिन्न प्रदर्शनी सञ्चालन गर्दै आएको स्मरण गर्दै स्वदेशी उत्पादनमा जोड दिन चेम्बर अफ कमर्ससँग आग्रह गरिन् ।
'अहिलेको आवश्यकता स्वदेशी उत्पादन बढाउनु हो,' उनले भनिन् । राष्ट्रपति भण्डारीले महिलाको आर्थिक अवस्था सुधार गर्न चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै दैवी विपद्का घटनामा सहयोग गर्दै आएकामा चेम्बर अफ कमर्सलाई धन्यवाद दिइन् ।
चेम्बरले सबैसित सहकार्य गरी मुलुकको विकासमा टेवा पु¥याउनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रसित सहकार्य गरी समस्या समाधान गर्न अग्रसर रहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा चेम्बर अफ कमर्सले दिएका सुझाव समेटिने आश्वासन दिदैं अर्थतन्त्र सबल बनाइ रोजगारी सिर्जना गर्न चेम्बर अफ कमर्सलाई सुझाव दिए ।