पोखरा, ९ जेठ - पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुल्ला सदस्यमा राधिकाकुमारी शाही र वैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी वडा नं १९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गर्नुभएको हो ।
सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित हुनुभएको छ ।
महानगरको २० वटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, काँग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र काँग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गर्नुभएको छ । अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ । महानगरमा ३३ वडा छन् । रासस