१७ असार २०८३, बुधबार

महिला हिंसाविरुद्ध विद्यालयमा कक्षा सञ्चालन गर्न महिला आयोगको आग्रह

चैत ५, २०७७
महिला हिंसाविरुद्ध विद्यालयमा कक्षा सञ्चालन गर्न महिला आयोगको आग्रह

राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक हप्ता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ । 

भोलिन्टियर सर्भिज ओभर्सिज (भीएसओ) नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले बिहीवार आयोजना गरेको संघस्तरीय नीतिगत बहस कार्यक्रममा आयोगका सदस्य विद्या सिन्हाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आयोगको टोलीले आग्रह गरेको जानकारी दिइन् ।

उनले सो विषयमा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गरिएको बताइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकार सुरक्षित विद्यालय अवधारणाको गुरुयोजना ल्याइसकेको र यसमा कोभिड–१९ पछिका अवरोध समेतलाई थप गरेर कार्यान्वयन गरिने जानकारी दिए ।

उनले विद्यालयमा गुनासो सुनुवाइ पेटिका अनिवार्य राख्न लगाइ विद्यार्थीको गुनासोलाई नियमित सम्बोधन गर्न लगाइएको र विद्यालयमा अशान्ति हुने कुनै पनि आक्रमण हुन नदिइने स्थिति निर्माण गर्नुपर्ने जनाए ।

गाउँपालिका राष्ट्रिय महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दूर्गादत्त ओझाले बालमैत्री विद्यालय निर्माणका लागि आफूहरू प्रतिबद्ध भएको बताए ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले भयमुक्त वातावरणमा मात्रै बालबालिकाले सहजरूपमा सिकाइ हासिल गर्न सक्ने भएकाले सबै स्थानीय तह र विद्यालयमा बाल संरक्षण मापदण्डको कार्यान्वयनका लागि नीतिगत पहल शुरू भएको जानकारी दिए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकहरूसँगको सहकार्य बढाएर विद्यालय सुरक्षाका कार्यक्रम सफल बनाउन सकिने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघका अध्यक्ष कृष्ण थापाले विद्यालयस्तरमा स्वामित्व निर्माण गर्न सकेमा नीति र कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रममा भीएसओ नेपालका देशीय निर्देशक जयशंकर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षित विद्यालयका लागि हासिल गरेका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताए ।

आसमान नेपालका सन्तोष महर्जनले विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कूरीति, सामाजिक विभद्जस्ता घटनाका कारण विद्यार्थी बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको बताए ।

कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक निकायका प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकार भएका सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरण लगायतका पक्षमा पर्याप्तता हुनुपर्ने बताइएको हो । उनीहरूले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिएका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमले सहयोग गरेको पनि जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्